कोरोना अपडेट

चीनमा कोरोनापछि अर्कौ भाइरस भेटियो : यस्ता छन् लक्षण

काठमाडौँ, बुधबार, २५ साउन २०७९ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर कहर मच्चायो । यसबाट मानिस अहिलेसम्म बाहिर आउन नपाउदै चीनमा अर्को खतरनाक भाइरस फेला परेको छ । यो नयाँ भाइरसको नाम जुनोटिक लाङ्ग्या हो । अगष्ट ८ मा चीनले जुनोटिक लाङ्ग्या भाइरसका ३५ जनामा संक्रमण पुष्टि गरेको थियो । चीनबाट उत्पन्न भएको यो नयाँ भाइरस कति खतरनाक छ, जान्नुहोस्

यो भाइरस जनावरबाट फैलिरहेको छ ?

ग्लोबल टाइम्सको रिपोर्टअनुसार यो भाइरसलाई लाङ्ग्या हेनिपाभाइरस, एलएभी पनि भनिन्छ । यो भाइरसको परीक्षणका लागि न्युक्लिक एसिड परीक्षण विधि प्रयोग गरिनेछ । यो भाइरस खतरनाक हुन सक्छ । जनावरबाट हेनिपाभाइरस लङ्ग्या भाइरस फैलिरहेको छ । यो भाइरसले मानिसलाई संक्रमित गर्न सक्छ ।

भाइरसका लक्षणहरु के के हुन् ?

यो भाइरसबाट संक्रमित हुँदा ज्वरो आउने, थकान हुने, खोकी लाग्ने, भोक नलाग्ने, मांसपेशीमा समस्या आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिन्छन् । शान्दोङ र हेनान प्रान्तमा ३५ मध्ये २६ जनामा लाङ्ग्या हेनिपाभाइरस संक्रमणका बिरामीमा ज्वरो आउने, चिडचिडापन हुने, खोकी लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने र वान्ता हुने जस्ता लक्षण देखा परेका थिए । पूर्वी चीनमा ज्वरो आएका बिरामीको घाँटीबाट लिइएको नमूनामा यो भाइरस पुष्टि भएको हो ।

रोकथाम नै उपचार हो ?

विज्ञहरुका अनुसार यो भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । तर, यो कति खतरनाक हुन सक्छ भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । अहिले नै आत्तिनुपर्ने अवस्था छैन, तर यसको रोकथामका लागि आवश्यक कदम चाल्न जरुरी छ । अहिलेसम्म लाङ्ग्या हेनिपाभाइरस को कुनै खोप बनेको छैन । यसको लागि एकमात्र उपचार आत्म–हेरचाह र रोकथाम उपायहरू हो।

डब्ल्यूएचओले के भन्यो ?

ताइवानको सीडीसीका उपमहानिर्देशक चुआङ झेन–हिसियाङका अनुसार यो भाइरस मानिसबाट मानिसमा सर्न सक्दैन । यद्यपि, यसको बारेमा अझै अनुसन्धान भइरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार लाङ्ग्या भाइरसले जनावर र मानिसमा गम्भीर रोग निम्त्याउन सक्छ र यसलाई बायोसेफ्टी लेभल ४ भाइरसको रूपमा वर्गीकृत गरिएको छ, जसको मृत्युदर ४०–७५ प्रतिशतको बीचमा छ।

Leave a Reply

Your email address will not be published.