February 24, 2024
राजनीति समाचार

‘जादुगर हुँ’ भन्दै संविधानमाथि प्रहार : गगन थापा

काठमाडौँ, शुक्रबार, २६ माघ २०८० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । आज शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरूलाई मेटाउने काममा लागेको बताए । उनले आफू जादुगर हुँ भन्दै आउनेहरू लोकरिजाइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । संविधानमाथि प्रहार गर्नेहरूलाई चिनेर चिरफार गर्नुपर्ने उनको भनाइ थियो ।

विगतको अँध्यारोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए ।

उनले भने, ‘आज संविधानमाथि भएका प्रहार कहाँबाट आएका छन्। एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् । तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएको हो । तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ । तिनीहरू हिजोको अँध्यारोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ । त्यो पुनःरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए। देश सम्हाल्ने काम कांग्रेसको भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *