भक्तपुर, २६ चैत २०७६ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले जिल्लाका चारवटा नगरपालिकालाई एक एक लाख रुपियाँका दरले आर्थिक सहयोग गर्ने भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनअन्तर्गत नगरका गरिब तथा विपन्न ज्यालादारी मजदुर परिवारलाई खाद्यान्न सहयोग गर्न भक्तपुर रेडक्रसले उक्त आर्थिक सहयोग गर्ने भएको हो ।

शाखा सभापति मनोजकुमार थापाले जिल्ला शाखाको आज बसेको बैठकले भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपािलकालाई सहयोग गर्ने निर्णय गरेको बताउनुभयो ।

सरकारले स्थानीय तहमार्फत् एकद्वार प्रणालीमा राहत वितरण गर्न गरेको निर्देशनको आधारमा सम्बन्धित नगरपालिकालाई खाद्यान्न सहयोगको निम्ति उक्त रकम सहयोग गर्न लागिएको रेडक्रसले जनाएको छ ।

यस अघि रेडक्रस आफैले खाद्यान्न तथा गैरखाद्यान्न राहत वितरण गर्दै आएको भए पनि अहिले सरकार आफैले स्थानीय तहमार्फत् एकद्वार प्रणालीमा राहत वितरण गर्न निर्देशन दिएकाले नपालाई सहयोग गरेका सभापति थापाले बताउनुभयो ।

भक्तपुर रेडक्रसले स्थापना गरेको विपद् राहत व्यवस्थापन कोषको ब्याज रकमबाट आर्थिक सहयोग गरिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here