काठमाडौँ, शनिबार, १० असोज २०७७ । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको छ ।

नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि कुल स्वीकृत ठेक्का सम्झौता रकमको ६० प्रतिशतले हुन आउने रकम सात करोड ५९ लाख १९ हजार ३ सय ७७ जिससको मौजाद कोषबाट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलबीच सम्झौता भएको हो । उक्त सम्झौतामा रोबरको रुपमा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी रहनु भएको छ ।

भवन निर्माणका लागि १२ करोड ५६ लाख ३२ हजार दुई सय २९ रुपियाँ लागत लाग्नेछ । बाँकी रकम नगरपालिका आफैंले व्यर्होनेछ ।
जिल्ला समन्वय समितिको मौजाद कोष सञ्चालन निर्देशिका २०७५ को बुँदा नं. ९ बमोजिम टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता गरिएको हो ।

भवन निर्माण सम्बन्धी आयोजना कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने र यस आयोजनाका लागि प्राप्त भएको रकम तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च भएको रकमको लेखा राख्ने तथा लेखा परिक्षण गर्ने सम्बन्धि व्यवस्था प्रचलित कानुन बमोजिम टोखा नगरपालिकाले राख्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको प्रशासनीक भवन निर्माण कार्यको ठेक्का सम्झौता समय अवधि दुई वर्षको हुनेछ । भवन निर्माण सम्बन्धि आयोजना निर्धारित समय तोकिएको गुणस्तरमा कार्यान्वयन गर्न चाहिने आवश्यक प्राविधि सहायता नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने छ । भवन निर्माण सम्बन्धि आयोजना स्वीकृत टेण्डर बमोजिम तोकिएको गुणस्तर र निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेछ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्झौतामा उल्लेखित समयसीमा भित्रै नगरपालिकाको प्रशासनीक भवन निर्माण गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here