Friday, February 26, 2021
More

    सिरानचोकमा चौबीसीहरूको आक्रमण हुन्छ भन्ने उड्दो खबर गोर्खामा आइरहदा..

    गोरखा, शनिबार, १० माघ २०७७ । श्री ५ पृथ्वीनारायण शाहले सात वर्षको रामछाया देखाएर पछि जस्ताको तस्तै गराएका हुनाले भक्तपुरका राजा रणजित मल्ल कुँढिनु स्वाभाविक थियो ।

    परशुराम थापाले पनि श्री ५ पृथ्वीनारायण शाहको रैती बन्न अस्वीकार गरेर आफ्नो रोष प्रकट गरेका थिए । उता तनहूँका राजा त्रिविक्रम सेनले र लमजुङका राजा वीरमर्दन शाहले पनि गोर्खालीका विरुद्ध भएर गोर्खामा आक्रमण गर्नाका निमित्त पर्वतका राजा शाहबम मल्ललाई आफ्ना गठमा मिलाएका थिए ।

    परन्तु, पर्वत र लमजुङका राजाहरूले बीचमा परेका कास्कीका ठकुराइलाई संयुक्त बल लगाएर मिच्ने गरेका हुनाले कास्कीका राजा सिद्धिनारायण शाह यस गठमा मिल्न इन्कार गरी पाँच वर्षसम्म अडेर रहेका रहेका थिए ।

    श्री ५ पृथ्वीनारायण शाहले दूधकोशीसम्म राज्य विस्तार गरेपछि परशुराम थापाले आफ्ना एक भाइका साथ गुप्ती चालसँग रणजित मल्ललाई ‘अब तपाईंले लमजुङ, तनहूँ र पर्वतका साथ मिलेर गोर्खामा आक्रमण गर्नुभएन भने चारै राज्यलाई एकै घानमा गोर्खालीले मिच्नेछन् । यसकारण तपाईंहरूको चार चौबीसी-राज्य एकगठ भई मिलेमा म पनि गोर्खालीले पूर्वतिर बढाएको भू:भाग दखल गर्छु’ भन्ने सन्देश पठाए । श्री ५ पृथ्वीनारायण शाहले परशुराम थापाका यस गोटीचालको पत्ता लगाइसकेका थिए । तसर्थ, उनले झागल गुरुङलाई गाइनेको भेष गराएर कास्कीमा पठाए ।

    झागललाई यो काममा पठाउँदा उनले कम्मरको आफ्नो खुकुरी झिकेर झागलको कम्मरमा गुप्त रूपले बाँध्न लगाएका थिए । उनताकका गाइने माछा मार्ने बल्छी र सारङ्गी लिई गाउँगाउँमा डुली गाउने र मारेका माछा बिक्री पनि गर्ने गर्दथे । एक दिन परशुराम थापाका भाइ बिहानको भात खाएर आरामसँग लेटिरहेका समयमा उनका साथीहरू भात खान लागेको मौका पारेर परशुराम थापाका भाइलाई झागलले काटिदिए र सारङ्गी र बल्छीसमेत फ्याँकी झागल चम्पत भए (जनवरी १७५५ आ.) ।

    यस घटनाबाट सिद्धिनारायण शाह पनि आफ्नो अपमान भएको सम्झेर तनहूँले, लमजुङे र पर्वते राजाका दलमा सम्मिलित भए । यता परशुराम थापाले काभ्रेपलान्चोक जिल्लाका गाउँहरूमा आफ्नो अधिकार जमाउँदा श्री ५ पृथ्वीनारायण शाह आफैं महादेवपोखरीका गढीमा बसेर परशुराम थापासँग मुकाबिला गर्न लागे । कस्केली राजा सिद्धिनारायण शाह शत्रुदलमा मिलेको समाचार पाएर उनलाई फुटाई तटस्थ गराउनाका निमित्त उनीछेउ आफ्ना एक दूत श्री ५ पृथ्वीनारायण शाहले पठाएका पनि थिए ।

    यसैबीचमा कस्केली राजा नफुट्ने समाचार एक कस्केली मानिसबाट पाएर पनि श्री ५ पृथ्वीनारायण शाह मीतबाबा रणजित मल्लको बाटो हेर्न लागे (मे १७५५) । यसैबीचमा चौबीसीको सैन्यदल आएर गोर्खाको सिरानचोकगढी दखल गरेको समाचार आउँदा श्री ५ पृथ्वीनारायण शाह नालदुमको बाटो गरी फेरो मारेर नुवाकोटमा पुग्दा त्यहाँ रहेका काजी कालू पाँडेले आफ्ना साथमा रहेको सैनिक दल लिई गोर्खातिर रवाना भइसकेको देखेर उनी गोर्खामा कालू पाँडेलाई भेट्टाउन पुगे ।

    सिरानचोकमा चौबीसीहरूको आक्रमण हुन्छ भन्ने उड्दो खबर गोर्खामा आइरहेको थियो तापनि कस्केली राजासँग सम्झौता गर्न भनेर श्री ५ पृथ्वीनारायण शाहले आफ्ना दूत पठाइराखेका हुनाले त्यसैअनुसारको तैयारीमा काजी रणरुद्र शाह लागेका थिए । तर, कस्केलीसँग सम्झौता हुन नसकेको हुनाले चारै चौबीसी ठकुराइका राजाहरूले इ. सं. १७५५ मेका आरम्भमा नै आफ्ना–आफ्ना सर्दारका साथ सैनिक दल पठाएर चेपे पार गराइ सिरानचोकगढी धावा गर्न लाउँदा त्यस गढीका रक्षाका निमित्त थोरै सैनिक दल भँडालद्वारे रहेका हुनाले यिनले गढी थाम्न नसक्ने देखेर शत्रुको दल नआउंदै यिनी गढी छोडेर हटे । त्यहाँपछि लगत्तै मलमास आएको हुनाले र मलमासमा लडाइँ नगर्ने परम्पराको नियम हुनाले चौबीसी सैनिक दल पनि चुपचापसँग गढीमा र गढीका वरिपरि थर्पु बनाएर कुरिरह्यो । यसबीचमा गोर्खालीले आफ्नो तैयारी गर्ने अवसर पाए ।

    मलमास सकिएपछि गोर्खालीको आक्रमण होला र निकला हटाइ लपेटा दिँदै गोर्खादरबारसमेत दखल गरौँला भन्ने विचार लिएर चौबीसी सिरानचोकमा रहेका थिए । लडाइँको गतिविधि हेर्नाका निमित्त पर्वतका राजा शाहबम मल्ल पनि तनहूँ र लमजुङका सीमानामा रहेका चेपेका दायाँ किनाराका मानेचौकाका आसपासमा डेरा जमाइरहेका थिए ।

    श्री ५ पृथ्वीनारायण शाह पनि गोर्खा राजदरबारमा बसेर आफ्ना सैन्यदलको सञ्चालन गर्नामा तैयार थिए । तर, बर्सात्को मध्य पारेर काजी तुलाराम पाँडे र केहरसिंह बस्न्यातले पछिल्ला पटक नालदुम जितेको अनुभव ताजा हुनाले काजी कालू पाँडेले अधिकमास सकिएपछि पनि सिरानचोकमा रहेका शत्रुमाथि आक्रमण गर्न एक महीना पर्खेर समय लम्ब्याए । अधिकमास सकिनेबित्तिकै गोर्खालीको प्रत्याक्रमण हुने देखेर चौबीसीहरूले ल्याएका रसद समय लम्बिँदा खतम हुँदै आएको र बर्सातको समयमा खेतीपातीमा लागेका लमजुङे रैतीले रसद खेप्ने कामका झारामा सम्मिलित हुन पनि गाहारो भएको थियो ।

    एक महिना नाघेर पनि कुलानन्द ढकालले नजिक साइत नपाउँदा २६ जुलाई शनिश्चरबारका मध्याह्नको साइत दिए । यस साइतका दिनभन्दा केही दिनअगाडि नै सिरानचोकका आसपासमा रहेका शत्रुसैनिकका थर्पु परेका गाउँलाई किस्त दिने गरी आफ्ना थर्पु बनाएर रसदपाना र रातमा बाल्ने दियालाको पनि गोर्खालीले बन्दोबस्त गरिसकेका थिए । मध्याह्नमा गोर्खालीले शत्रुउपर आक्रमण शुरू गरी जून अस्ताएपछि पनि मध्यरात्रिसम्म मारकाट चलाउँदा धेरै शत्रु हताहत भइ पक्रिएका र मरेका बाहेक अरू बचेका शत्रुसैनिक भागेर जाँदा मध्य बर्सातको बाढीले बढेको चेपेमा डुङ्गा नपाएर हेलिएर जाँदा केही बगे र केही पार भए । गोर्खाली सैनिक दलमा पनि सल्याना उमराव अम्बर पाँडे र अरू सैनिक पनि निकै हताहत भए । पक्रिएका शत्रुसैनिकहरूका हतियार खोसेर श्री ५ पथ्वीनारायण शाहले छोडिदिए ।

    लडाइँ सकिएपछि पक्रिएका सैनिकहरूलाई हतियार खोसेर सीमाना पार नियम चौबीसीठकुराइमा पनि चालू थियो । पक्रिएका सर्दार ल्याइए र पर्वतका सर्दार बलिभञ्जन मल्ललाई सन्मानका साथ छोडिदिए ।

    (‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ बाट)

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here