टीकापुर, ८ बैशाख २०७७ । नोबेल कोरोना भाइरसको महामारीले निम्त्याएको असहज परिस्थितिमा विपन्न, दैनिक ज्यालादारी गरेर पेट पाल्नेहरुले पाउनुपर्ने राहत केही सम्पन्नहरुले पनि पाएको भन्दै विरोध हुन थालेपछि राहत टीकापुर नगरपालिकाले राहत बुझ्ने सबै घरधुरीको नाम सार्वजनिक गर्ने जनाएको छ ।

नगरपालिकाले गरेको राहत वितरण र कोरोनाभाइरसको त्रासका कारण नेपाल सरकारले लगाएको लकडाउनपछी नगरपालिकाले गरेका गतिविधिको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गर्दै नगरप्रमुख रावलले राहत लिनेहरुको नामावली सबै तयार भैसकेपछी सार्वजनिक गरिने बताउनु भयो । उहाले यसले नगरपालिकाले केहि सुझाव पनि पाउनेमा विश्वास लिएको जानकारी दिदै वडा नम्बर १ मा राहत वितरण अपारदर्शी भएको स्वीकार गर्नुभयो ।

टीकापुर नगरपालिकाका सबै वडाहरुमा मिलाएर बैशाख ४ गतेसम्म एक हजार ७२४ घरधुरीलाई राहत वितरण भैसकेको छ । नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार वडा नम्बर १ मा ६२१, वडा नम्बर २ मा ११२, वडा नम्बर ३ मा ७३, वडा नम्बर ४ मा २१७, वडा नम्बर ५ मा १२३, वडा नम्बर ६ मा १३७, वडा नम्बर ७ मा २१६, वडा नम्बर ८ मा ८० र वडा नम्बर ९ मा १४५ जनालाई राहत वितरण गरिएको हो । राहतमा नगरपालिकाले सबै वडामा मिलाएर ३८ हजार ५२५ केजि चामल, चार हजार ४२६ केजि दाल, दुई हजार ३७२ केजि नुन, दुई हजार ८४२ लिटर तेल, ५ केजि सोयाबिन र तीन हजार ४४६ पिस साबुन वितरण गरेको हो ।

त्यसैगरी, गत चैत ११ गतेदेखि बैशाख ३ गतेसम्म क्वारेन्टाइनमा बसेका ३७ जनाको पिसिआर परिक्षण गरि उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको र उनीहरुलाई घर पठाइसकेको जानकारी दिदै नगरपालिकाले दोश्रो चरणमा क्वारेन्टाइनमा ७३ जना रहेको र यस अवधिमा भारत र अन्य मुलुकबाट आएका ६० जना नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) जाँच समेत गरेर रिपोर्ट नेगेटिभ आएको जनाएको छ । पहिलो चरणको क्वारेन्टाइन व्यवस्थापनमा तीन लाख ७१ हजार २९ रुपैयाँ खर्च भएको समेत नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले विभिन्न वडामा आपूर्ति व्यवस्थापन समितीमार्फत राहत वितरणको काम अगाडी बढाइएको जानकारी दिदै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दुई चरणमा ३७ लाख ५० हजार ६७१ रुपैयाँ १० पैसा बराबरको खाद्यान्न खरिद गरेको जनाएको छ । टीकापुर नगरपालिकाले यो महामारीको समयमा देशमा लागेको लकडाउनले गरिब, मजदुरमा परेको असरलाई ध्यानमा राख्दै राहतको काम गर्न बनाएको आकस्मिक राहत कोषमा स्थानीय सरकार, प्रदेश सरकार, विभिन्न संघ संस्था र व्यक्तिहरुबाट बैशाख ४ गतेसम्म ७९ लाख ८४ हजार २४२ रुपैयाँ प्राप्त भएको र अन्य सामाग्रीमा दाताहरुबाट १६ हजार ९७५ केजि चामल, ८०० केजि दाल, ९४१ केजि नुन, ३८७ लिटर तेल, ३ हजार २५१ पिस साबुन प्राप्त भएको बताएको छ ।

सोही पत्रकार सम्मेलन पश्चात् टीकापुरकि स्थानीय व्यवसायी कल्पना जैशीले नगरपालिकाको आकस्मिक कोषलाई १ लाख ५१ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here