गोरखा, मंगलबार, २० जेठ २०७७ । प्रकृति आफैँ अप्राकृतिक बन्दैन । संसारमा अनगिन्ती दृश्य अदृश्य सत्व प्राणीहरु छन् । यिनीहरुको उदय विलय प्रकृति आफैँले आवश्यकता अनुसार सन्तुलन राख्दछ ।

जति जति यस नियमलाई आफ्नो स्वार्थ र आफू अनुकूल मात्र उपयोग गर्न खोजिन्छ, उति उति प्राकृतिक प्रकोप उत्पन्न हुन्छ । यो संसार यी असंख्य सत्व प्राणीहरु सबैको साझा घर हो र यहाँ बाँच्ने सबैको उत्तिकै अधिकार छ भन्ने कुरा सायद नगण्यले मात्र सोचेका होलान् ।

कुनै पनि प्राणी मानिस जत्तिको अतिक्रमणकारी सायदै होला । यो एउटा सर्वदा अकाट्य प्राकृतिक नियमको उल्लंघन सबैभन्दा चेतनशील भनिएका तीनै मानवबाट जस्तो अरु कुनै पनि प्राणीबाट सायदै भएको होला ।

आज एक्कइसौँ शताब्दीमा मानव समाजले इबोला, स्वाइन फ्लु, जापनिज इन्सेफइटिक्ससंग लड्दै आज समग्र मानव जगत र कोरोनाबीच मानव इतिहासकै सम्भवत आजसम्मको सबैभन्दा घमासान युद्ध चल्दैछ ।

यस युद्धमा आजको मितिसम्म विश्वका करीब साँढे तीन लाख मानिसहरुको मृत्यु भैसकेका छन्, कति मानिसहरु क्वारेन्टाइनमा त कयौँ मानिसहरु सेल्फ आइसोलसनबाट यस युद्धमा जुध्दैछन् । आजसम्म नेपालमा १२ जनाको मृत्यु भैसकेका छन् ।

संसारमा भएका कयौँ युद्धहरु जो विशेष परिस्थितिमा दुइपक्षीय सहमतिमा युद्धविराम हुने गरेको पाइन्छ । भर्खरै पनि अफगानिस्थानमा वर्षौदेखि चलिरहेको तालिवान र सरकारबीचको युद्ध विराम भएको छ । तर कोरोनासंगको यो युद्ध छिट्टै विराम हुने संकेत देखिँदैन । आजसम्म आइपुग्दा मानव जातिले यतिसम्म अतिक्रमण गरिसकेकको अनुमान गर्न सकिन्छ कि यो मानवजातिको लागि अक्षम्य गल्ती भैसकेको अनुमान गर्न सकिन्छ । तर प्रकृतिका कुनै पनि प्राणीको सामु मानिस पश्चाताप गरी आफूले गरेको पाप देशना गर्न तयार पनि देखिँदैन ।

आज यस्तो कर्मको विपाकबाट भाग्न अनेकौँ उपाय खोज्दैछन् विश्वमानव समाज । आधुनिक विज्ञानको विकासले अभिमानको चुलीमा पुगेको मानव समाज आज निरीह भएको छ ।

आज संसारभरी यस युद्धको अस्थायी सर्बोत्तम उपायको रुपमा सामाजिक दुरी कायम, सरसफाइ, खानपान आदिलाई एक एक गरी परीक्षण गर्दैछ । यसलाई प्रभावकारी पार्न संसारले लकडाउन तथा बन्दाबन्दी विधिलाई अपनाएको छ । आज सर्वत्र कोरोनाले घेराबन्दी गरिसकेपछि लकडाउनको विभिन्न मोडललाई अपनाउँदै आएको छ । यसबाट विश्व मानव समुदाय कत्तिका दुरदर्शी छन् ? भन्ने कुरा थाहा हुन्छ ।

यस सन्दर्भमा गुरुङ्ग पुर्खाहरुलाई मात्र यस्तो दुरदर्शी मान्न सकिन्छ कि आफ्नो गाउँ समाजको सुरक्षा सुस्वास्थ्य, पशुबाली आदिलाई सम्भावित रोगव्याधीबाट सुरक्षित राख्न वार्षिक नियमित तालिका अनुसार नै गाउँ बार्ने परम्परा एउटा संस्कृतिकै रुपमा स्थापित थियो । हरेक वर्ष चैत्र महिनातिर जुन समय नयाँ बाली लगाइसकेको हुन्थ्यो ।

असार, श्रावण वर्षा लाग्न शुरु हुन्थ्यो । रोगव्याधीको सम्भावना धेरै हुन्थ्यो । यसै कुरालाई ध्यानमा राखी मानिस, पशु, बाली सबैको सुरक्षाको लागि हरेक वर्ष चैत्र महिनातिर खास तिथि मिति हेरेर क्याब्री गुरु आएर गाउँका प्रत्येक घरभित्र खोपी, तला सबै ठाउँबाट खराब शक्तिहरुलाई घरबाहिर धपाउने अनि अन्तमा गाउँबाहिर धपाउने गरिन्थ्यो ।

गाउँ बाहिरबाट पनि मानिसहरुलाई त्यस दिन गाउँ प्रवेशमा कडाइका साथ निषेध गरिन्थ्यो ता कि कुनै पनि खराब शक्ति, रोगव्याधी गाउँमा भित्रिन नपाओस् । यस परम्परालाई गुरुङ भाषामा ट्होत्हेँ भनिन्छ । त्यसलाई वास्तवमा आजको लकडाउनसंग तुलना गर्नै नसक्ने दुरदर्शी लकडाउन भन्न सकिन्छ । यसरी गुरुङ्ग संस्कृतिमा दुरदर्शी लकडाउनको अवधारणा शदीयौँदेखि प्रचलित थियो ।

ट्होत्हेँ भनेको गाउँको पूजा भन्ने अर्थ लाग्छ । ट्हो ले गाउँ अथवा टोल र त्हेँ ले पूजा भन्ने अर्थ लाग्छ । यसर्थ यसले गाउँको पूजा भन्ने जनाउँदछ । यस दिनमा गाउँका युवाहरुलाई गाउँ प्रवेश गर्ने हरेक नाका नााकामा तैनाथ गरिन्छ । जसले बाहिरबाट कसैलाई पनि गाउँ प्रवेशमा कडाईका साथ रोक्ने काम गर्दछ । यसरीलाई गुरुङ्ग भाषामा नास बारिव भनिन्छ । यसर्थ आजको यो लकडाउनभन्दा कडा लकडाउनको पालना, सबैले सम्मान गर्ने किसिमको लकडाउन गुरुङ संस्कृतिमा पाइन्छ । यसलाई नेपाली भाषामा बन्दाबन्दी नामकरण गरिएको छ । तर बन्दाबन्दी र लकडाउनभन्दा पुरानो शब्द नास बारिव हो ।

त्यसैले, विश्वमै यसलाई नास बारिब (ह्युल बारिब) भन्नु सर्बोचित देखिन्छ । यसको साथै जसरी गुरुङ संस्कृतिको यो पक्ष आज विश्वकैलागि मननयोग्य, अवलम्बन गर्न योग्य, तार्किक र बैज्ञानिक रहेको सुझाव व्यक्त गर्दछु । तर यसलाई आजभोलि गुरुङ समुदायले पनि एउटा सांकेतिक रुपमा मेला, महोत्सव, झाँकीमा मात्र प्रदर्शन गर्दै आएको पाइन्छ अथवा करीब लोप भैसकेको छ ।

त्यसैले, गुरुङ समुदायको यस्तो अमूल्य सम्पदालाई अझै थप खोजी गरी सम्बद्र्धन गर्ने र एउटा विश्व साँस्कृतिक सम्पदाको सूचिमा दर्ता गर्न पहल गर्नु आजको आवश्यकता देखिन्छ । आजको सन्दर्भमा यसले एउटा समुदाय विशेषलाई मात्र नभएर नेपाललाई नै चिनाउन सक्ने एउटा मौलिक सस्कृति हुने प्रबल सम्भावना छ ।

यससंग धेरै अन्य अनुसन्धान गर्नयोग्य पक्षहरु छन् समायनुकूल अनुसार भावी दिनमा पस्किने प्रयास गर्नेछु । अध्ययन गरी फिडव्याकको अपेक्षा गर्दछु ।

धन्यवाद ।

नीर बहादुर गुरुङ

लेखक लुम्बिनी विश्व विद्यालयका उपप्राध्यापक हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here