स्वास्थ्य

डेंगु नियन्त्रणमा सरकार पुर्णत असफल : एमाले

काठमाडौँ, बुधबार, ५ असोज २०७९ । नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज बिज्ञप्ती निकालेर डेंगु संक्रमण समुदायमा फैलिरहँदा पनि यसको रोकथाममा सरकारले कुनै पहल नगरेको जनाउनु भएको छ ।

‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ, आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ, यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ, सरकारी संयन्त्र असफल भएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।

डेंगुका बिरामी दिनप्रतिदिन बढ्दै गएको, अस्पतालमा बेड अभाव भएको र धेरै बिरामी उपचारको अभावमा घरमै छटपटाउँदा समेत सरकार मुखदर्शक बनेको भन्दै एमालेले कडा आपत्ति जनाएको छ ।

डेंगुबाट २१ जनाको ज्यान गएको, १७ हजार ५ सय ९४ बढी प्रभावित भएका र ७५ जिल्लाका व्यक्तिमा यसका लक्षण देखा परेको भन्दै एमालेले चिन्ता व्यक्त गरेको छ । स्वास्थ्य संस्थामा नआइ घरमै उपचार गराइरहेको बिरामीको संख्या अझ धेरै भएको एमालेको ठहर छ ।

डेंगुको रोकथाम र नियन्त्रण तथा बिरामीको उपचारमा गम्भीर बन्न एमालेले सरकारको ध्यानाकर्षण पनि गराएको छ । ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन, हजारौंको संख्यामा बिरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्,स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ, सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव भएको छ, फेरि पनि सरकार परिणामहीन भएको छु,’ विज्ञप्तिमा लेखिएको छ ।

एमालेले पार्टीका तहगत कमिटी, पार्टीका जनवर्गीय संगठन र केन्द्रीय सदस्यलाई डेंगु नियन्त्रणमा योगदान गर्न आव्हान पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.