स्वास्थ्य

डेंगु रोक्ने भरपर्दाे उपाए के ?

काठमाडौँ, बिहीबार, ३० भाद्र २०७९ । डेंगु संक्रमण बढी देखिएका स्थानमा लामखुट्टेको फुल र लार्भा नष्ट नगरिए संक्रमण अझ बढ्ने विज्ञहरूले बताएका छन् ।

अहिलेकै अवस्थामा संक्रमण मत्थर नहुने र आगामी वर्ष अझ व्यापक रूपमा संक्रमण देखिन सक्ने उनीहरुको भनाइ छ । उपत्यकालगायतका ठाउँमा लामखुट्टेको फुल र लार्भा खोज्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान नभएकामा पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

अर्कातिर, डेंगु संक्रमण तीव्र बनेका बेला सिटामोलको अभाव सुरु भएको छ । अहिले राजधानीका अधिकांश फार्मेसीमा नै सिटामोल पाइँदैन । फार्मेसी सञ्चालकहरू एक महिनायता सिटामोल आउन छाडेको बताउँछन् ।

हालसम्म डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार उच्च जोखिममा रहेका १० जिल्लामा मात्र ९ हजार २ सय २६ वटा केस देखिएको छ ।

उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन रहेका छन् । ती जिल्लामा जनवरीयता ६ महिनासम्म ५१ जनामा डेंगु देखिएको थियो ।

पछिल्लो अढाई महिनामा भने संक्रमणको केस ह्वात्तै बढेको छ । ‘डेंगु दिनहुँ बढ्दो छ तर मैले आफ्नो क्षेत्र शान्तिनगरमा सर्च एन्ड डिस्ट्रोय अभियान भएको देखकै छैन,’ ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियानबारे धेरै पहिले नै संघीय मन्त्रालयमा परिपत्र गइसकेको बताए ।

उक्त पत्रमा वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर वडा स्तरबाट हरेक घरभित्र र बाहिर सर्च एन्ड डिस्ट्रोय अभियान सुरु गर्नेबारे जानकारी गराइएको छ ।

स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले उपत्यका र बाहिरका पालिकाले नाम मात्रको अभियान चलाएको बताए । ‘अन्य ठाउँको के कुरा गर्नु, काठमाडौं महानगरले समेत हालसम्म अभियानको रूपमा डेगु संक्रमणको चक्र तोड्ने काम गर्न सकेको छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.