काठमाडौँ, आइतबार, ७ असार २०७७ । नेपालमा आज (आइतबार) विभिन्न जिल्लाका थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या ९ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनाका सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ५६ पुरुष र ६४ जना महिलामा सङ्क्रमण भेटिएको बताउनु भयो ।

अहिलेसम्म ७५ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ । हालसम्म नेपालमा १ हजार ७ सय ७२ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देवी देवताको पूजाआजा गरेर कोरोना निको हुने भ्रम फैलाइएकोमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न ठाउँमा महिलाहरुले कोरोनादेवी र कोरोना मैयाको पूजा गरेको जानकारीमा आएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

कोरोना फैलनुअघि कहिले पनि कोरोनादेवीको नाम नसुनिएको र अहिले नयाँ देवीको आविष्कार भएको भन्ने भ्रमकाे आधारमा नदी किनारमा भेला भएर र विभिन्न धार्मिक समारोह आयोजना गरेर पूजा आज भइरहेकोमा त्यसरी कोरोना निको नहुने गौतमले बताउनुभयो ।

भगवान मानिससँग क्रोधित भएको कारणले यो महामारी भएको र भगवानलाई खुसी पारेमा मात्रै भाइरस हराएर जान्छ भन्ने विश्वासका साथ पूजाआजा र समारोह गरिएको भन्ने थाहा हुन आएको भन्दै प्रवक्ता गौतमले यस्ता अन्धविश्वासले झनै समस्या बढ्ने बताउनुभयो ।

सरकारले मानिस जम्मा हुन प्रतिबन्ध लगाएको अवस्थामा देवी देवताले कोरोना भगाउँछन् भन्दै जमघट हुँदा झनै कोरोना फैलने डर बढेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here