आँसुको बादल फाटेर
मुस्कानको एक सर्को किरण
आफ्नै अनुहारमा परेको छ ।

असिनाले चुटे झै
आफ्नै आँसुका थोपाहरुले
चुटेर घाइते थियो मन ।

यी चोटहरुको ओखति बनेर
फर्केको छ आफ्नै बिश्वास
भरोसा बनेर आफैमाथि ।

अब गलाउने छैन आँसुले
समयले आँसु जित्न सिकाएको छ
मनले जिन्दगीलाई
यस्तै भरोसा दिलाएको छ ।

अध्यारो रातलाई चिर्दै
बेदनाको पहाड भत्काएर
खुसीको एक हुल आभास
मनमै छिरेको छ ।

धुलो जमेर बसेको
सम्झनाका पहाडहरुमा
एक झरी बर्षा परेको छ
शितल बतास मन मै सरेको छ ।

एक लर्को खुशीको किरण
आफ्नै मुहारमा परेको छ
हृदयदेखि टाढिएको मन
आफैतिर सरेको छ ।

जिन्दगी आफैंसंग खुशी छ
दु:खका पहाड भत्काई
मैदानमा खुसीको खेती गर्दै छ ।

जे छ आफैं संग
त्यससँगै घुलेर
नयाँ खेती रोपेको छ
थुप्रै बिश्वास फलाउने आशामा ।

सीमा पुरी
२०७७/०४/२०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here