Friday, February 26, 2021
More

    दिक्तेल रुपाकोट मझुवागढी आफ्नै भवनमा

    खोटाङ, शुक्रबार, ३ पौष २०७७ । भाडाको घरमा सञ्चालन हुँदै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएका चार तला भएको १९ कोठे सुविधासम्पन्न प्रशासनिक भवनमा नगरपालिकाले बिहीबारदेखि दैनिक कामकाज सुरु गरेको हो ।

    तत्कालीन जिल्ला प्राविधिक कार्यालयका लागि निर्माणाधीन भवन देशमा संघीयता लागू भएसँगै उक्त प्राविधिक कार्यालयले बीचैमा छाडेर गएपछि नगरपालिकाको तर्फबाट बाँकी निर्माणको सम्पन्न गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख दीपनारायण रिजालले बताउनु भयो । प्रशासनको जग्गामा निर्माण गरिएका नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक कार्यालय भवन प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विशाल भट्टराईले उद्घाटन गर्नु  भएको थियो ।

    नगरपालिकाले भवन निर्माणका लागि रु एक करोड १६ लाख लागतमा बोलपत्र आह्वान गरेकामा निर्माण कम्पनी शिव खिम्ती कन्ट्रक्सन प्रा लि ले घटाघटमा रु ८९ लाख ६१ हजारमा निर्माण सम्पन्न गरेको जनाइएको छ । निर्माण कम्पनीले सम्झौता मितिभन्दा दुई महिना अगाडि नै सम्पूर्ण निर्माणको काम सम्पन्न गरेर नगरपालिकालाई बिहीबार नै चाबी हस्तान्तरण गरेको थियो ।

    तत्कालीन प्राविधिक कार्यालयको रु ८४ लाख खर्च भएको उक्त प्रशासनिक भवन निर्माणमा रु एक करोड ८८ लाख ६१ हजार खर्च भएको नगरप्रमुख रिजालले बताउनु भयो । आठवटा शौचालय, चारवटा बाथरुम र खानेपानीको समेत व्यवस्था रहेको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य शाखाबाहेक सम्पूर्ण शाखा सञ्चालमा ल्याइएको छ ।

    वार्षिक रु १६ लाख ८५ हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको नगरपालिका आफ्नै प्रशासनिक भवनमा सरेपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताउनु भयो । जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्षपछि नगरपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।

    यसैबीच तत्कालीन गाविस भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ वडामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान सुरु गरेको छ । यही पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गर्नुपर्ने गरी नगरपालिकाले निर्माण कम्पनीसँग सम्झौता गरेको छ ।

    सुविधा सम्पन्न र व्यवस्थित भवन नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा रु ६५ लाखका दरले बजेट विनियोजन गरेको छ । कतिपय भवन सोभन्दा कम बजेटमा निर्माण भइरहेको जनाइएको छ । वडा नम्बर–१२ जालपाको भवन रु ४७ लाखमै बनेको वडाध्यक्ष विकास राईले बताउनु भयो । वडा नम्बर ३ बाम्राङ, वडा नम्बर ५ लफ्याङ, वडा नम्बर ६ नेर्पा र वडा नम्बर १४ बुइपा यसअघि नै सुविधा सम्पन्न भवन सञ्चालनमा छन् ।

    दुई नगरपालिकासहित दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचङ नगरपालिका तथा दिप्रुुङ चुइचुम्मा, रावाबेँशी, बराहपोखरी र खोटेहाङ गाउँपालिकाले यसअघि नै आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् । केपिलासगढी, साकेला, ऐंसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकाले पनि धमाधम आ–आफ्नो प्रशासनिक भवन निर्माणको काम गरिरहेका छन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here