Sunday, March 7, 2021
More

    देशभर ‘हाई अलर्ट’

    काठमाडौं, बुधबार, १२ फागुन २०७७ । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ ।

    सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट हुन सक्ने प्रदर्शन र दुई समूहका नेता कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपको आँकलनसहित सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको हो ।

    त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी गरिसकेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरिबहादुर पालले सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको जानकारी दिए ।

    ‘सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको छ, प्रदर्शन हुने स्थानमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा रहन निर्देशन दिइसकिएको छ,’ एआइजी पालले भने ।

    प्रहरीले काठमाडौंको माइतीघर मण्डला, शान्तिवाटिका, नयाँ बानेश्वर, भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन हुनसक्ने र झडपका घटना हुन सक्ने भन्दै उच्च सुरक्षा निगरानीमा राखेको हो । ती स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी राजु अर्यालले सम्भावित सुरक्षा चुनौतीको आँकलन गरी संवेदनशील क्षेत्रको पहिचान पहिले नै गरिएको र त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

    ‘हामीले पहिलेदेखि नै आवश्यक तयारी गरिरहेका छौं, निर्णय आएपछिको सम्भावित अवस्थाका विषयमा पनि हामीले सतर्क रहेर आवश्यक व्यवस्था मिलाइसकेका छौं,’ सशस्त्र प्रहरीका प्रवक्त डिआइजी अर्यालले भने ।

    ससस्त्र प्रहरीले सर्वोच्च अदालतले बहस नोट दिन दिएको अन्तिम मितिको भोलिपल्ट अर्थात् ११ फागुनदेखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको थियो ।

    नेपाली सेनाले आफ्नो प्रमुख चासो सुरक्षा व्यवस्था नै रहेकाले अवस्थाको मूल्यांकन र विश्लेषण गर्दै आवश्यक तयारी गरिरहेको जनाएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेना आफ्नो संवैधानिक दायित्वमा स्पष्ट र जानकार रहेको भन्दै सेनाको प्रमुख चासो शान्ति सुरक्षा नै रहेको बताए ।

    ‘सेना आफ्नो संवैधानिक दायित्वमा स्पष्ट र जानकार छ, सेनाको प्रमुख चासो भनेको सुरक्षा नै हो, अवस्थाको आँकलन गर्ने र त्यसको तयारी गर्ने काम सेनाले गर्छ,’ सैनिक प्रवक्ता पौडेलले भने । राजधानी

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here