ललितपुर, मंगलबार, १३ जेठ २०७७ । ललितपुर महानगरपालिका वडा नं २४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको संख्या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास गरिएको हो ।

ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पम्फा भुसाल र महानगरपालिकाका उपप्रमुख गीता सत्यालले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गर्नु भएको थियो । यस चालू आर्थिक वर्षमा सांसद विकास कोषबाट आश्रम निर्माणका लागि रु १० लाख विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य पम्फा भुषालले बताउनु भयो । महानगरपालिकाका उप-प्रमुख गीता सत्यालले आश्रम निर्माण कार्यमा महानगरपालिकाको पूर्ण साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेवा आश्रम ललितपुरका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले आश्रमको भवन आधुनिक, सुविधासम्पन्न, छ कोठे र दुई तलाको निर्माण हुने जानकारी दिनुभयो । ‘फलामको पिलरमाथि चार भित्तामा सिमेन्ट बोर्ड प्रयोग गरी एक हजार ८०० स्कवायर फिट क्षेत्रफलमा भवन निर्माण गर्न लागेका छौं। यो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हुनेछ । ललितुरमा देखिने अनाथ, बेसहारा, परिचयविहीन, मनोरोगीलाई ध्यानमा राखी आश्रमको भवन निर्माण गर्न लागेका हौं ।’उहाँले भन्नुभयो ।

आश्रम निर्माणमा ५० लाख रुपैया खर्च हुने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो । केही वर्षअघिदेखि महानगरपालिका-२३ हात्तीवनमा आश्रमको शाखा रहेको हुँदा अब बन्ने भवन भने उप शाखाका रूपमा प्रयोग हुनेछ । ‘नेपालको १४ जिल्लाभर १८ स्थानमा आश्रम खोलिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ३७०-८० मानिसले आश्रमबाट सेवा लिइरहेका छन्’, पौडेलले भन्नुभयो । हात्तीवन आश्रममा ९ जनाका टोली २४ घण्टा खटिने गरेको पौडेलको भनाइ छ ।

आश्रम निर्माणका लागि झम्सिखेल निवासी कमला शर्माले व्यक्तिगततर्फबाट १० लाख रुपैया , गतवर्ष मानभवन निवासी सुरेन्द्रगोविन्द जोशीले एक लाख रुपैया, मकैकुमारी विष्टले २५ हजार पाँच रुपैया र एकान्तकुना निवासी सरला ढकालले ५५ हजार ५५५ रुपैया सहयोग गर्नु भएको थियो । आश्रम निर्माणका लागि सरकारी जग्गा भोगाधिकारका रूपमा उपलब्ध गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here