चितवन, मंगलबार, १३ जेठ २०७७ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले  भारतीय सीमानामा अलपत्र परेका नगरवासीलाई  उद्धार गर्नेक्रम जारी राख्दै आउनु भएको छ । आफ्ना नागरिक लिन उहाँ आफै बस लिएर सीमानासम्म पुग्नु भएको थियो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार तीमध्ये सोमबार १५ जना र अघिल्लो साता नौ जना ल्याएर क्वारेन्टिनमा राखिएको छ । दुई दिनअघिमात्र सुनवलबाट ६५ जनालाई माडी ल्याइ क्वारेन्टिनमा राखिएको छ  । झापा र नेपालगञ्जबाट भरतपुुर आएर बसेका पाँचजनालाई पनि नगरपालिकाले क्वारेन्टिनमा लगेर राखिएको छ ।  अहिलेसम्म ९४ जनालाई सीमानाबाट  माडी ल्याइसकिएको छ । तीमध्ये धेरै भारतको मुम्बइका रहेका छन ।

नगरपालिकाले कोरोना जोखिम हुन नदिन  उच्च प्राथमिकता दिएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिले एउटा वडामा कम्तीमा एउटा क्वारेन्टिन निर्माण गर्ने निर्णय अनुसार नगरका नौवटै वडामा १२ वटा क्वारेन्टिन बनिसकेका उनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पनि वडाध्यक्षको नेतृत्वमा सीमानामा अलपत्र परेका नागरिक लिन एउटा बस पठाइएको छ । हालसम्म त्यहाँबाट २७ जनाले नाम टिपाएको भए पनि खंख्याका आधारमा थपिने उहाँको भनाइ छ ।  क्वारेन्टिनमा बसेकालाई त्यही खाना र आवासको व्यवस्था गरिएको छ । नगरपालिकाले कोरोनाको पिसिआर परीक्षणका लागि किट खरिद गर्न रु १० लाख बजेट छुट्याइसकिएको छ ।

“क्वारेन्टिन व्यवस्थापन र खाजामा रु २२ लाख हाराहारी खर्च गरिसकेका छौँ ।” नगरपालिकाले राहतमात्र दुई हजार ७ सय ६५ परिवारलाई वितरण गरिसकेको छ । यसका लागि रु ४२ लाख खर्च भएको बताइएको छ, उहाँले भन्नुभयो ।  “हाम्रा नगरवासी विदेशमा अलपत्र पर्नुहुँदैन । ल्याएर सुरक्षित भएपछि घर पठाउने काम हाम्रो हो ” भन्नुभयो । 

नगरपालिकाले तथ्याङ्क सङ्कलन गरेअनुसार दुई हजार आठजना माडीवासी भारतमा रहेका छन् । विदेश रहेकाको कुल सङ्ख्या चार हजार दुई सय हाराहारी छ । तीमध्ये २० देखि २५ प्रतिशत तत्काल आउने नगरपालिकाले जनाएको छ । यसैका लागि एउटामा १०० जना अट्नेगरी १२ वटा क्वारेन्टिन तयारी अवस्थामा छ ।

उहाँसँग यसअघि गर्दी गाउँ विकास समितिको दुईपटक अध्यक्ष भएको अनुभव छ । नगरपालिकाले घरकै क्वारेन्टिनमा रहेका १ सय २९ जनाको अनुगमन, वगई स्वास्थ्य डेस्क, १०० श्ययाको अफिसियल क्वारेन्टिन, बघौडा अस्पतालमा पाँच श्ययाको आइसोलेशन, १ सय ४६ जनाको र्‍यापिट डाइग्नोष्टिक टेष्ट, १९ जनाको पिसिआर परीक्षण, दीर्घरोगी, ज्येष्ठ नागरिकलाई घरमा नै औषधि, जिल्ला र देशका विभिन्न ठाउँमा रहेका एक हजारजनाको उद्धार र स्वास्थ्य परीक्षण गरिसकेको छ ।

माडी चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड र वन क्षेत्रको बीचमा रहेको छ । वन्यजन्तुको त्रासमा बाँच्न विवस माडीवासी सुगम जिल्लाका भएर पनि विभिन्नखालका समस्या भोग्न बाध्य छन् । नगरपालिकामा ४३ हजार ४ सय २ जनसङ्ख्या रहेको छ ।

कसरामा हेल्थडेस्क, सुरक्षाकर्मीलाई सुरक्षा कवज, बघौडा अस्पतालको नेतृत्वमा र समन्वयमा एम्बुलेन्स सेवा व्यवस्थितरुपमा सञ्चालनजस्ता गतिविधि गरिएको छ । साथै, माडीका सञ्चारमाध्यमलाई सङ्कटमा सन्देश प्रसारण गर्न बजेट विनियोजन गरी काम अघि बढाइएको छ । ‘पूरै ध्यान केन्द्रित गरी काम गर्‍यो भने केही गर्न सकिन्छ’ भन्ने उदाहरण नगरप्रमुखले देखाएको जिल्लावासी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here