काठमाडौं, आइतबार, २१ बैशाख २०७७ । कोरोना भाइरस (कोभिड–१९ ) रोकथामको लागी सरकारले लगाएको लकडाउन वैशाख २५ गते पछि स्वरुप बदलिने भएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समयावधि थप्ने तर स्वरुप भने बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो रणनीति तयार पार्न लागेको हो ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली। तस्बिर: राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय।

विश्वभरमा कोरोनाको संक्रमण फैलने क्रम जारी रहेकोले थप जोखिम बढ्न नदिन मन्त्रिपरिषद्ले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने भएको छ । तर, कोरोना नियन्त्रण तथा रोकथाम गर्न गठित उच्चस्तरीय समन्वय समितिले कुनै निर्णय सरकारलाई कुनै पनि सिफारिस नगरेका कारण निर्णय भने हुन बाँकी छ ।

स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई कोरोना संक्रमणको अवस्था हेरेर गाढा रातो, रातो, पहेंलो र हरियोसहित चार जोन बनाउने भएको छ । कोरोनाको भाइरसको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमश अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागिएको हो ।

हरियो जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने छ भने संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here