May 18, 2024
अर्थ व्यवसाय

नागरिक लगानी कोषले सबै नागरिकलाई पेन्सनमा समेट्ने

विराटनगर, सोमबार, १७ वैशाख २०८१ । नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने भएको छ । विराटनगरमा सम्पन्न नागरिक पेन्सन योजनासम्बन्धी अन्तरक्रियामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले यस्तो बताउनुभएको हो । उक्त योजनामा चैतसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको र सहभागी संख्या छ हजार एक सय १० पुगेको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नागरिक लगानी कोषमार्फत् स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्थाअनुसार कोषले देशभरका सबै नागरिकलाई समेट्ने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताउनुभएको हो । योजनामा आयआर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था छ । सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानी क्षमताअनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीका आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरूपमा रकम जम्मा गर्न सकिन्छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था छ । बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफलसमेत एकमुष्ट भुक्तानी लिन वा पेन्सनका रूपमा भुक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोषले अवकाश कोष व्यवस्थापन गरी सामाजिक सुरक्षासम्बन्धी राम्रा कार्यक्रम सञ्चालनमा ल्याएको भन्दै कार्यक्रममा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो । कोषले सहभागीलाई प्रदान गर्ने सेवा सुविधा थप गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्नुपर्ने उहाँको जोड थियो । कोषका उपनिर्देशक नारायणप्रसाद घिमिरेले नागरिक पेन्सन योजनाबारेमा कार्यपत्र पेश गर्नुभएको थियो भने कोषको विराटनगर कार्यालयका उप–निर्देशक तारानाथ भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *