February 24, 2024
प्रदेश विशेष

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म

काठमाडौँ, शनिबार, ७ पौष २०८० । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । यसअघि सडकखण्ड बन्द हुने तय गरिएको समयतालिका परिवर्तन भएको छ ।

परिवर्तित कार्यतालिका अनुसार मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।

पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको छ ।

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हाे । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *