चितवन, शुक्रबार, २ असोज २०७७। अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडक खण्डमा तीनठाउंँमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले यस सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ को केराबारी, चौध किलो, र सत्र किलोमा पहिरो गएको जानकारी दिए ।

उनका अनुसार आज बिहान पौने ६ बजे गएको पहिरोमध्ये हालैमात्र चौध किलोमा एकतर्फी रुपमा सडक चालु भए पनि केराबारी भन्ने स्थानमा ठूलो पहिरो खसेकोले सडक सञ्चालन हुन थप केही घण्टा लाग्नेछ ।

“अरु स्थानमा भन्दा केराबारी ठूलो पहिरो छ । पहिरो त्यस्तै एकसय मिटर लामो होला,” उनले भने । माथिबाट गेगर सहितको लेदो पहिरो खसेकाले सडक सञ्चालन हुन कम्तिमा ४ घण्टा लाग्ने उनले जानकारी दिए ।

केराबारी मुग्लिनबाट नारायणगढ तर्फ झण्डै १५ किलोमिटर दुरीमा पर्दछ । एकसाता अघिदेखि यो सडकखण्डमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here