एजेन्सी, ७ बैशाख २०७७ । अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय ‘नासा’ ले करिव दश वर्षपछि अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । यानमा सवार भई दुई जना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) तर्फ जानेछन् ।

रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट आगामी २७ मे का दिन उडाउने योजना नासाले सार्वजनिक गरेको छ ।

‘एक पटक पुनः अमेरिकी अन्तरिक्ष यानलाई अमेरिकी भूमिबाट आगामी मे २७ मा पठाइने भएको छ,’ नासाका प्रमुख जिम ब्राइडेस्टाइनले ट्वीटमार्फत् पुष्टि गरेका छन् ।

नासाले उसको अन्तरिक्ष सटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ । रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ‘स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ । अन्तरिक्ष यात्री बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ ।

यदि सफल भएमा अर्बपति व्यवसायी एलन मस्कको कम्पनी स्पेश एक्स, नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पु¥याउने पहिलो निजी कम्पनी हुने एएफपीले जनाएको छ । ‘द फाल्कन नाइन रकेट’ र ’क्रु ड्र्यागन’ अन्तरिक्ष यानले अन्तरिक्ष केन्द्रको अपोलो र सटल मिसनहरूका लागि प्रयोग भएको ऐतिहासिक प्याड ३९ ए बाट उडान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here