मनोरञ्जन

निर्माता संघको कार्यसमिति अनुमोदित

काठमाडौँ, सोमबार, २० भाद्र २०७९ । चलचित्र निर्माता संघको सर्वसम्मत कार्यसमिति साधारणसभाद्वारा अनुमोदित भएको छ ।

संघको शनिबार काठमाडौंमा भएको साधारणसभाले कार्यसमितिलाई अनुमोदित गरेको हो । संघमा अध्यक्षलगायत पदाधिकारी सर्वसम्मत निर्वाचित भएका थिए । उम्मेदवारी मनोनयनका क्रममा आवश्यक पदमा एकभन्दा बढीको मनोनयन नपरेपछि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो । सोही दिन नयाँ कार्यसमिति सर्वसम्मत चयन भए पनि शनिबार बसेको संघको साधारणसभाले अनुमोदन गरेको हो । संघको अध्यक्षमा नवल खड्का सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ । ‘भीमदत्त’, ‘दशगजा’, ‘माया बसेछ’ जस्ता चलचित्र नवलले निर्माण गरेका चलचित्र हुन् । उहाँले दर्जनौं चलचित्रमा अभिनय पनि गर्नुभएको छ । उहाँको पछिल्लो चलचित्र ‘काँडेतार’ सिनेमाघरमा आउने तयारीमा छ ।

संघको उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल सर्वसम्मत हुँदा महासचिवमा सुनीलकुमार थापाको निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा किसान पोखरेल, कोषाध्यक्षमा ज्योतिराज राई सर्वसम्मत निर्वाचित हुनुभएको छ । सदस्यहरूमा ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, माओत्से गुरुङ, खगेन्द्र लामिछाने र शेखर लामा चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष नवल खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिलो लक्ष्य रहेको बताउनुभयो । अध्यक्ष खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागि पर्ने बताउनुभयो ।

उहाँले कतिपय चलचित्रको प्रचारको अभाव रहेको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा चलचित्र निर्माणको लागि आवश्यक काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.