Sunday, March 7, 2021
More

    नेकपा विवाद : निरुपणको प्रक्रिया नै अघि बढाउँदैन आयोग

    काठमाडौं, बुधबार, ५ फागुन २०७७ । निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन ।

    नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आयोगसमक्ष आफ्नो आधिकारिकता दाबी गरेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपणको प्रक्रिया अघि नबढाएको पाइएको हो । अध्यक्षद्वय प्रचण्ड र नेपालले गत माघ २० गते आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेका थिए। आयोगले सोही दिन विवाद निरुपणको विषयमा दुई, तीन दिनमै आधिकारिक जवाफ दिने बताएको थियो ।

    आधिकारिकता दाबी गरेपछि नेकपाको विवादले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ मा टेकेको बताउँदै आएको आयुक्तहरुले यसबारे अनौपचारिक छलफल गर्दै आएको बताएका छन् । यसअघि दुवै पक्षले आधिकारिकता दाबी गर्नुनपर्ने जिकिर गरेकाले आधिकारिकता विवाद कानुनी ट्रयाकमा अघि नबढेको भनाइ आयोगले राख्दै आएको थियो ।

    कानुनी प्रावधान टेके पनि विवाद निरुपणको प्रक्रिया अघि नबढाएपछि आयोगको निर्णय क्षमता सार्वजनिक बहसको विषय बन्दै गएको छ ।नाम, चिह्न वा केन्द्रीय समितिको आधिकारिकतासम्बन्धी विवादको निरुपण दफा ४४ को उपदफा (१) देखि (७) सम्मका चरणबद्ध प्रक्रियाहरु रहेका छन् । दलसम्बन्धी ऐनको दफा ४३ र ४४ मा दलको नाम, छाप, विधान, झन्डा, चिह्न पदाधिकारी र केन्द्रीय समितिको निर्णयसम्बन्धी उठेका विवाद निरुपणसम्बन्धी व्यवस्था छ ।

    आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्नेछ । त्यसपछि दाबीको सम्बन्धमा लिखित जवाफ पेस गर्नका लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्को पक्षलाई १५ दिनको सँचना आयोगले दिनुपर्नेछ । तर अहिलेसम्म आयोगले केपी ओली पक्षलाई लिखित जवाफका लागि पत्राचार गरेको छैन । यो समाचार नेपाल समाचारपत्रमा छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here