डडेल्धुरा, २८ पुस २०७७ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती डडेल्धुरामा पनि भव्य रूपमा सम्पन्न गरिएको छ । राष्ट्रिय एकता दिवसका रूपमा मनाइने पृथ्वीजयन्ती डडेल्धुरामा पनि मनाइएको हो ।
२९९ औँ पृथ्वीका अवसरमा अमरगढी किल्ला क्षेत्र विकास समितिको आयोजनामा पृथ्वीनारायण शाहको तस्बिरमा अविरसहित फुलमाला माल्यार्पण गरेको थियो ।
नेपाल एकीकरणका अभियन्ता शाहको सम्झनामा पश्चिम किल्ला काँगडासम्मको एकिकरणको क्रममा निर्माण भएको ऐतिहासिक र विशाल ढुंगेकिल्ला डडेल्धुराको किल्ला अमरगढी परिसरमा अमरगढी किल्ला पर्यटन क्षेत्र विकास समितिको आयोजनामा २९९औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले जसको दूरदर्शीताको कारण आज हामी नेपाली हुनुमा गौरव गरिरहेका छौँ, ती महान् व्यक्तित्व राष्ट्रनिर्माताको अतुलनीय योगदान बिर्सन नहुने जिकिर गर्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रममा उद्योग बाणिज्य संघ डडेल्धुराका पूर्वअध्यक्ष उपेन्द्रराज जोशी, कांग्रेस डडेल्धुराका नेता कार्यकर्ता सहित सञ्चारकर्मी र स्थानीयबासीको उल्लेख्य उपस्थितिमा रहेको थियो ।
नेपाल राज्यको एकीकरणसँगै राजनीतिक एकताको सान्दर्भिकता पनि बढ्दै गइरहेको भन्दै समितिको आयोजनामा नेपाली कांग्रेस डडेल्धुराका नेता कार्यकर्तासहित स्थानीय बुद्धिजिवीहरुको सहभागितामा शाहको तस्बिरमा फूलमालासहित माल्यार्पण गरी उहाँको योगदानमा सम्मान प्रकट गरिएको थियो ।
पृथ्वीनारायण शाहको तस्बिरमा अविर फुलमाला माल्यर्पणपछि बोल्दै सहभागीहरूले राष्ट्रियता भन्ने शब्दलाई पहिलो सिद्धान्तका रूपमा अंगिकार गरेको बताउँदै पृथ्वीनारायण शाह जस्ता विभुति राष्ट्रलाई खाँचो परेको उल्लेख गरे ।
ऐतिहासिक अमरगढी किल्ला नेपाल एकिकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्ला हो । नेपाल एकिकरण अभियानका महत्वपूर्ण पात्र काजी अमरसिंह थापाको वीरताको गाथा बोकेको किल्ला पनि हो ।
डडेल्धुरा जिल्ला सदरमुकामको सिरानमा अवस्थित अमरगढी किल्ला ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । उक्त किल्लाकै नामबाट अमरगढी नगरपालिकाको नामकरण गरिएको छ ।