काठमाडौं, शनिबार, १३ बैशाख २०७७ । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिनुभयो ।

उहाका अनुसार नेपालले लकडाउन तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन,’ ‘त्यसैले नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’ भन्नुभयो ।

नेपालमा कोरोना संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोरोनाको परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।

नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोरोना र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोरोना विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आ–आफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहदै आउनु भएको छ ।

त्यसैगरी, सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।

कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोरोना दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ ।

अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् ।

त्यसैगरी, कोरोना रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेसनमा छन् ।

नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् ।

विश्वमा अहिले २८ लाख ३३ हजार ९५८ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ९७ हजार ३६८ जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here