शिवजी सापकोटा

काठमाडौँ, ७ बैशाख २०७७ । विश्वमा देखिएको कोरोना भाइरसको दु्रततर संक्रमण र नेपालमा पनि यस संक्रमणको विषम स्वास्थ्य परिस्थितीले समदायका व्यक्तिहरुमा परेको समस्या, यिनै समस्याहरु मार्फत परेको समग्र क्षेत्रको असर र सामुदायको प्रत्यक्ष संलग्नतामा सञ्चालित सहकारी क्षेत्र व्यवस्थापनका लागि यहाँ सामान्य र सरल विषयहरु राख्ने जमर्को गरेको छु ।

विश्वमा यो महामारी, विपद, प्रकोप, दुर्घटना भन्ने विषय प्राकृतिक प्रक्रिया भित्र पर्दछ । यो नियमित चालिरन्छ । यद्यपी हाम्रो पुस्तामा यो पहिलो होला वा पटक पटक होला वा रुप बदलिएला भन्न सकिन्न । कुनै समय निश्चित भूगोलमा मात्र होला, कुनै समय निश्चित क्षेत्रमा मात्र वा कुनै समय सम्पूर्ण विश्वमै विपद पर्ला नयाँ विषय होईन । इतिहासका काल खण्डहरुमा यस्ता महामारी, युद्ध, संकट, विपद्, प्रकोप र दुर्घटनाहरु थुप्रै भइरहेका छन् । सर्वप्रथम सहकारी क्षेत्रले यस्तो अवस्थामा हतास महसुस गर्ने र आत्तिने गर्नु हुँदैन । अवस्था सामान्य हुन्छ केवल सावधानी र उच्च सतर्कता अपनाउनु पर्छ ।

अन्य परिस्थीति र अहिलेको परिस्थिती फरक छ, सबै क्षेत्रहरु बन्द छन् । आवतजावत, निर्माण कार्यहरु, दैनिक व्यवसाय सञ्चालन, उत्पादन र उद्यमका लागि कच्चा पदार्थहरुको सहज उपलब्धतामा कठिनाई हुनुले उल्लेख्य मात्रामा उत्पादन हुन सकेको छैन साथै व्यक्तिहरु अलपत्र परेका छन् । सरकारले बाहिर ननिस्कनु, घर भित्रै बसेर यो स्वास्थ्य संकटको सामना गर्नु भनेको छ । संकट हाम्रा लागि मात्र आएको छैन, तमाम विश्व समुदायलाई भयभित बनाएको छ ।

१) आम स्वास्थ्य संकटको चरण

वित्तीय सहकारीहरुको विषयमा कुरा गर्दा अहिले समुदायमा स्वास्थ्य संकट परेको अवस्था छ । र, यो पहिलो चरण हो । यस अवस्थामा संक्रमण फैलन नदिनका लागि विविध उपायहरुको अवलम्बन गर्नुपर्दछ । व्यक्ति व्यक्तिहरुमा दुरी कायम गर्ने, भिडभाड नगर्ने, भिडभाडमा नजाने, आफ्ना सदस्यहरुलाई जनचेतना फैलाउने र व्यक्तिलाई संक्रमणबाट जोगाउनेतर्फ क्रियाशिल रहनु पर्दछ । यो समयमा समुदायका व्यक्तिहरुको जीवनयापनमा आवश्यक पर्ने खाद्यान्न वा खाद्य सामाग्री खरिद तथा व्यवस्थाका लागि आवश्यक पर्ने केही रकम त्यो बचत फिर्ता हो वा साना ऋण लगानीमार्फत हो त्यसको जोहो गर्ने वा सदस्यमा पु¥याउने पहिलो दायित्व सहकारी संस्थाको हो । सहकारीमा धेरै बचत जम्मा गरेकाले विपद्को समयमा अब सकिइहाल्छ वा अब सखाप हुने भयो भनेर जम्मा भएको ठूलो रकम फिर्ता लिने वा यही विपदको समयमा ठूला कामहरु गर्छु भनेर अरु पचासौं जना सदस्यको जीवनयापनका लागि आवश्यक पर्ने रकम निकाल्नबाट बेलैमा परामर्श दिन सहकारीहरु लाग्नु पर्दछ ।

सहकारीकर्मीले वा व्यवस्थापकले यो समयमा कुनै पनि सदस्यले सवारी साधन खरिद गर्न, घरघडेरी जोड्न, संरचना निर्माण गर्न सम्भव हुँदैन र यो अहिलेको आवश्यकता पनि नभएको भनी वित्तीय परामर्श र विपद् व्यवस्थापनतर्फ ध्यान केन्द्रित गराउनु पर्दछ । यो अवस्था संकटको अवस्था हो । सदस्यलाई केवल आफू र आफ्नो परिवारलाई खुवाउने र बचाउनेतर्फ सचेत गर्ने कार्यमा लाग्नु पर्दछ । संस्थाले व्यक्ति–व्यक्तिमार्फत सेवा दिनुभन्दा प्रविधिको प्रयोगमार्फत कारोबार गर्ने वा भुक्तानीको व्यवस्था अवलम्बन गर्दा स्वास्थ्य जोखिम कम गराउन सकिन्छ ।

२) संस्थागत भार वा तनावको चरण

सहकारी संस्थाहरुको दैनिक कार्य सञ्चालन गर्न नसक्नु, नियमित कर्मचारीहरु संस्थामा आउन नसक्नु, सदस्यहरु सँगको प्रत्यक्ष भेटघाट, कुराकानी, समस्या सुनुवाई र सम्बोधन नजिकबाट गर्न नसक्नु, यथेष्ट छलफल सहितको समिति उपसमितिहरुको बैठक बस्न नसक्नु, यस आ।ब।को तेश्रो त्रैमासिक समीक्षा गर्ने अनुकुल वातावरण नहुनु र आ।ब।को अन्त्यसम्मको अवस्था कस्तो हुने भनेर आँकलन गर्न नसक्नु भनेको अन्य क्षेत्रहरुको जस्तै सहकारी क्षेत्रको स्ट्रेसको समय हो ।

वास्तवमै आम स्वास्थ्य संकटमा रहनु, व्यक्तिहरु बन्दाबन्दीमा पर्नु र व्यक्तिका लक्षित उपलब्धीहरु हासिल नहुनुले सहकारीको वित्तीय क्षेत्रमा विचलन आएको छ, त्यो आउँछ नै यसमा आत्तिनु हुँदैन । यस अवधिमा सहकारीले कार्यालय व्यवस्थापन, खातावन्दी, कानूनी संहिताको परिपालना, अद्यावधिक गर्नुपर्ने विषय अद्यावधिक गर्ने, लिनु दिनु हिसाब चुस्त दुरुस्त गर्ने कार्य नियमित गर्नुपर्दछ । यो समय लक्ष्य अनुसारको बचत संकलन, ऋण लगानी, किस्ता भुक्तानी र आम्दानी वा नाफा नहुन सक्छ । समययमै सदस्यहरुले ऋण भुक्तानी वा साँवाको व्याज भुक्तानी समेत गर्न नसक्नु, कतिपय सदस्यहरुले नियमित बचत समेत जम्मा गर्न नसक्ने हुनुले प्रक्ष्यपित वित्तीय कारोबारको सूचक बिग्रन सक्छ । किनकी सदस्यहरुलाई यो समय कतैबाट पैसा आएको हुँदैन । यसले विगत दशकौंदेखि व्यवस्थित गरिएको वित्तीय सन्तुलनहरुमा केही विचलन आउन सक्छ वा क्षति पुग्न सक्छ । विश्व अर्थतन्त्रकै नक्सा फेरिएको अवस्थामा यसलाई चिन्ताको विषय लिनुहुन्न । परिस्थिती सामान्य हुँदै जाँदा विस्तारै व्यवस्थापकीय र वित्तीय सूचकहरु मिल्दै जान्छन् । अहिलेको संकट कुनै व्यक्ति वा समुदाय लक्षित वा निश्चित व्यावसायिक क्षेत्र लक्षित संकट होइन । यसको मारमा सबै परेका छन् ।

३) आर्थिक मन्दीको चरण

यो महामारीले पार्ने दुरगामी असर भनेको आर्थिक मन्दी हो । बेरोजगारी बढ्नु, व्यवसायिक एवम् उत्पादनका क्षेत्रहरु पूर्ण सञ्चालन हुन समय लाग्नु, साना व्यवसायीहरु यो बन्दाबन्दीकै चरणमा बन्दतुल्य हुनु, कतिपय क्षेत्रहरु विशेष गरी यात्रा, पर्यटन, होटल र मनोरञ्जन आदि सुचारु हुन लामो समय लाग्नुले सो क्षेत्रको आयआर्जनबाट आश्रितहरु बेरोजगार हुने, लगानीका क्षेत्रहरुमा निराशा पैदा हुने हुन्छ । अन्य क्षेत्रहरुमा भन्दा सहकारी क्षेत्रले आफ्ना सदस्यहरुलाई स्थिति अनुकुल वा न्यूनिकृत जोखिमको अवस्थामा आफ्ना उद्यम सञ्चालन, व्यवस्थापन, नयाँ उपायहरुको खोजी कार्यमा लगाउनु पर्दछ ।

हालसम्म भएका र भविष्यमा हुने क्षति एकैपटक सबै विषय पहिलेकै स्थानमा ल्याउन सम्भव हुँदैन । समुदायका सहकारीहरुले यो वन्दाबन्दीको अवस्थामा आफ्ना बढीमा एक तिहाई कर्मचारीहरुलाई सामाजिक दुरी कायम गरी सदस्य सम्पर्क, समन्वय र न्यूनतम सेवा उपलब्धताको प्रत्याभूति गराएर अद्यावधिक बस्नुपर्दछ । यी समयहरुका बीच आफ्ना आन्तरिक व्यवस्थापकीय चुस्तता र दुरुस्ततालाई ध्यान दिनु पर्दछ । राज्यका निर्देशनहरुको परिपालना, सञ्जालको सहजिकरणको स्वीकार्यता र भावी दिनहरुमा आइपर्ने समस्याहरु प्रति चनाखो र तयारी अवस्थामा रहनु पर्दछ ।

वन्दाबन्दीको अन्त्य पश्चातको समयको पनि सहज आँकलन गर्न, वित्तीय सहकारीहरुले आफ्नो वित्तीय क्षमता अनुसारको तरलता व्यवस्थित गर्न र सदस्यहरुलाई न्यूनतम अत्यावश्यकीय खाँचो टार्न सक्ने भएर बस्न अनुरोध गर्दछु ।

(लेखक नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here