रामपुर (पाल्पा), सोमबार, २७ कात्तिक २०८० । पत्रकार कल्याणकारी कोष स्थापनाका लागि प्रेस चौतारी नेपाल पाल्पा शाखाले देउसी भैलो कार्यक्रम गरेको छ । तिहार पर्वको मौलिकताको संरक्षणसँगै कल्याणकारी कोष स्थापना सहयोगार्थ जिल्लाका विभिन्न स्थानमा पुगेर देउसी भैलो कार्यक्रम गरेको हो ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीले तिहारको मौलिकपन जोगाउन तथा पत्रकार कल्याणकारी कोष स्थापना सहयोगार्थ देउसी भैलो कार्यक्रम गरिएको बताउनुभयो । शाखाले यस आर्थिक वर्षभित्र ११ लाख ११ हजार एकसय ११ रुपियाँ बराबरको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाले आइतबार लक्ष्मीपूजाको दिन बगनासकाली गाउँपालिकाबाट देउसी भैलो कार्यक्रमको सुरुवात गरेको छ । त्यस्तै अहिले रामपुर नगरपालिकाको बेझाँड बजार, रम्भा गाउँपालिकाको हुँगी र बगनासकालीको आर्यभञ्ज्याङ्ग बजारमा देउसी भैलो खेल्ने चौतारीले जनाएको छ ।
आज सोमबार माथागढीको सराई, तानसेन बजार लगायत स्थानमा देउसी भैलो खेल्ने कार्यक्रम रहेको प्रेस चौतारी नेपाल पाल्पा शाखाका सचिव नारायण न्योपानेले जानकारी दिनुभयो ।