-अजिजुल्लाह अन्सारी

काठमाडौँ, २१ बैशाख २०७७ । रमजान अरबी पात्रोको नवौं महिना हो । रमजान महिनाको रोजा (ब्रत) राख्नु प्रत्येक बुद्धिमान, वयस्क र सामथ्र्यवान मुस्लिममाथि अनिवार्य छ ।

कुरआनमा भनिएको छ : “रमजान त्यो महिना हो जसमा कुरआन अवतरित गरियो, यो मानवजातिको लागि मार्गदर्शन हो र यसमा सत्यमार्गको लागि र सत्य तथा असत्यबीच फरक छुट्याउने स्पष्ट प्रमाणहरु छन् । अतः तिमीहरु मध्ये जसले यस महिनालई पाउँछ उसले अनिवार्य रुपमा यसको ब्रत राखोस् ।” (कुरआन २:१८५)

रोजा मुस्लिमहरुमाथि मात्र अनिवार्य नभई मुहम्मद (स।) आउनुभन्दा पहिलेका समुदायहरुमाथि पनि अनिवार्य थियो । कुरआनमा भनिएको छ– “हे आस्थवानहरु ! तिमीहरुमाथि रोजा अनिवार्य गरिएको छ जसरी तिमीहरु भन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो ।” (कुरआन २:१८३)

अल्लाहका नबी मुहम्मद (स।) ले भन्नुभयो,“इस्लामका आधार ५ कुराहरुमाथि छ : यो साक्षी दिनु कि अल्लाहबाहेक कोही पूज्य छैन र मुहम्मद (स।) अल्लाहका रसुल हुन्, नमाज कायम गर्नु, जकात दिनु, हज गर्नु र रमजानको रोजा बस्नु ।” (बुखारी ८ र मुस्लिम १६)

मजान महिनाको चन्द्रमा देखेपछि अथवा कुनै आस्थवानले चन्द्रमा देखेको साक्षी दिएपछि मात्र रोजा बस्न शुरु गर्नुपर्छ र चन्द्रमाको हिसाबले रमजानभरीको २९ अथवा ३० दिनको रोजा पूरा गर्नुपर्छ । रोजा प्रभात कालको अजानदेखि सूर्यास्तसम्म बस्नुपर्छ ।

अल्लाहका नबी (स।)  ले भन्नुभयो,“चन्द्रोदयलाई देखेर रोजा राख र चन्द्रोदयलाई देखेर रोजाको महिनालाई समाप्त गर । यदि बादल छायो र तिमीले चन्द्रोदय देख्न सकेनौ भने ३० दिन रोजा पुरा गर ।” (बुखारी १७८१)

रोजाको महत्व

–  अल्लाहका सन्देष्टा मुहम्मद (स।) ले भन्नुभयो,“रोजा यस संसारमा पापबाट बचाउने र परलोकमा नर्कको आगोबाट बचाउने ढाल हो ।” (तिर्मीजी २६१६ र इब्नेमाजा ३९७३)

– अल्लाहका सन्देष्टा मुहम्मद (स।) ले भन्नुभयो,“मनुष्यका हरेक पूण्य कार्यहरुलाई उसको लागि केयौं गुणासम्म बढाईन्छ, यहाँसम्म कि एक पूण्यलाई १० गुणादेखि ७०० गुणासम्म बढाईन्छ, तर रोजाको मामिला भिन्नै छ । अल्लाह भन्छन् – “रोजा मेरो लागि हो र म नै यसको प्रतिदान दिनेछु ।” (बुखारी)

– रसुलुल्लाह मुहम्मद (स।) ले भन्नुभयो,“रोजा राख्ने व्यक्तिको मुखको गन्ध अल्लाहका नजिक कस्तुरीको सुगन्धभन्दा पनि उत्तम छ ।” (बुखारी)

– अल्लाहका सन्देष्टा (स।) ले भन्नुभयो,“स्वर्गमा एउटा अर्–रैयान नामक प्रवेशद्वार छ जसबाट केवल रोजेदारहरु स्वर्गमा प्रवेश गर्नेछन् ।” (बुखारी)

रोजाको नियत

अल्लाहका सन्देष्टा मुहम्मद (स।) ले भन्नुभयो,“सम्पूर्ण कर्महरु नियत (संकल्प) मा निर्भर छन् । मनुष्यले त्यही पाउँछ जसको उसले नियत गर्छ ।” (बुखारी र मुस्लिम)

नियतको सम्बन्ध हृदयसँग छ । मुखले भनेर नियत गर्नुको कुनै प्रमाण छैन ।

सेहरी

बिहान उज्यालो अथवा फजरको अजानभन्दा पहिले खाइने खानालाई सेहरी भनिन्छ । अल्लाहका नबी मुहम्मद (स।) को भनाई छ,“सेहरी खाऊ किनभने सेहरीमा बर्कत राखिएको छ ।” (बुखारी १९३२)

एउटा अर्को हदीसमा उहाँ (स।) ले भन्नुभयो,“हाम्रो र किताबवाला (इसाइ र यहुदी) हरुको रोजामा यही भिन्नता छ कि उनीहरु सेहरी खादैनन् तर हामीहरु सेहरी खान्छौ ।” (अबु दाऊद ५७३)

 “सेहरी खाँदै गर्दा यदि अजान भयो भने बीचैमा खाना नछोडी पुरा खानुपर्छ ।” (अबु दाऊद) । तर यसलाई दिनदिनैको बानी बनाउनु हुदैन ।

इफ्तार

इफ्तार अर्थात रोजा खोल्नु भनेको सूर्य अस्ताएपछि केही खानेकुरा खाएर रोजा तोड्नु हो । सूर्य अस्ताए लगत्तै इफ्तार गर्नुपर्छ । अल्लाहका नबी मुहम्मद (स।) ले भन्नुभयो–“इस्लाम सधैं प्रभुत्वशाली (गालिब) रह्नेछ जबसम्म मानिसहरु इफ्तारमा छिटो गर्नेछन किनभने यहुदी र इसाईहरु इफ्तारमा ढिलो गर्दछन् ।” (अबुदाऊद ५८२)

 एउटा अर्का हदीसमा आएको छ, मुहम्मद (स।) ले भन्नुभयो– “मानिसहरु सधै सत्मार्गमा रहने छन् जबसम्म रोजाको इफ्तारमा छिटो गर्नेछन् ।” (बुखारी १९५७)

 इफ्तारका लागि तयारी अवस्थामा बसेर अल्लाहसंग दुवा गर्नुपर्छ किनभने इफ्तारको बेलामा गरिने दुवा रद्द हुदैन । मुहम्मद (स।) ले भन्नुभएको छ,“निश्चय नै अल्लाह तआलाले इफ्तारको समयमा धेरै जनालाई (नरकको दन्कदो आगोबाट) मुक्त गर्दछन् ।” (इब्ने माजा)

 अल्लाहका नबी (स।) ले मानिसहरुलाई इफ्तार गराउन प्रोत्साहित गर्नुभएको छ किनभने मानिसहरुलाई इफ्तार गराउनु पनि पूण्यको कर्म हो । नबी (स।) ले भन्नुभएको छन्– “जसले रोजेदारलाई इफ्तार गराउँछ उसलाई राजेदारको बराबरी पूण्य प्राप्त हुनेछ र रोजेदारको पूण्य (सवाब) मा कुनै कमी गरिने छैन ।”

इफ्तारपछिको दुवा

 “बिस्मिल्लाह” पढेर इफ्तार गर्न शुरु गर्नुपर्छ । इफ्तारका लागि पढिने दुआ “अल्लाहुम्म लक सुम्तु व अला रिज्केक अफ्तरतो” सहीह हदीसबाट प्रमाणित छैन ।

इफ्तारपछिको दुवा

 “जहबज्जमओ वब्तल्लतिल् उरुको व–सबतल् अज्रो इन्शा अल्लाह ।” (अबुदाऊद)

अर्थात “तिर्खा मेटियो, घाँटी भिज्यो र अल्लाहले चाहेमा राम्रो बदला अवश्य पाइनेछ ।”

तरावीह अर्थात क्यामुल्लैल

 रमजानका दिनहरुमा इसाको नमाजपछि पढिने विशेष नमाजलाई तरावीह भनिन्छ । अल्लाहका नबी मुहम्मद (स।) को भनाई छ,“जसले इमानका साथ सवाब (पूण्य) को नियतले रमजानमा तरावीहको नमाज पढ्यो, अल्लाहले उसका अतितका सम्पूर्ण पापहरु क्षमा गरिदिनेछन् ।” (बुखारी २००८ र मुस्लिम ७५९)

अल्लाहका नबी (स।) ले भन्नुभयो,“यदि कुनै व्यक्ति इमाम (धर्मगुरु) को साथमा तरावीहको नमाज पढ्छ भने उसको लागि रातभरिको सवाब (पूण्य) लेखिन्छ ।

एतेकाफ

 संसारिक कृयाकलापहरुबाट अलग भई प्रार्थनाका लागि मस्जिदमा केही दिनको लागि बस्नु नै एतेकाफ हो । अति आवश्यक कार्यहरु (जस्तै खाना खाने, दिसा–पिसाब गर्ने, नुहाउने) बाहेक एतेकाफमा बसेको व्यक्ति मस्जिद बाहिर जानु जायज छैन । रमजानको अन्तिम १० दिन एतेकाफमा बस्नु उत्तम हो । अब्दुल्लाह इब्न उमर (रजि।) को भनाई छ कि रमजानको अन्तिम १० दिन नबी (स।) एतेकाफमा बस्नु हुन्थ्यो । (बुखारी)

 हजरत अबु हुरैरह (रजि।) को भनाई छ कि अल्लाहका नबी (स।) हरेक वर्ष १० दिन एतेकाफमा बस्नु हुन्थ्यो तर आफ्नो जीवनको अन्तिम वर्ष २० दिन एतेकाफमा बस्नुभयो । (बुखारी)

पतिको अनुमति लिई महिलाहरु प्नि एतेकाफमा बस्न सक्छन् । महिलाहरु आफ्नै घरमा एत्तेकाफमा बस्न सक्छन् । (मुस्लिम)

 वर्तमान समयमा मात्र बूढेसकाल लागेका मानिसहरुलाई एतेकाफमा बसेको देखिन्छ । युवा वर्र्गले पनि समयलाई व्यवस्थित पार्दै एतेकाफ बस्नमा चासो देखाउनु अति आवश्यक छ ।

लैलतुल कद्र

“निस्सन्देह हामीले यस कुरआनलाई कद्रको रातमा अवतरित ग¥यौँ । कद्रको रात के हो तिमीलाई के थाहा ? कद्रको रात हजार महिनाभन्दा पनि उत्तम छ । यसमा फरिश्ताहरु एवम् आत्मा (जिब्रइल) आफ्ना पालनकर्ताको आदेशले हरेक कार्य सम्पादनका लागि ओर्लने गर्छन् । यो पूर्ण शान्तिको (रात) हो र प्रातः कालको आगमनसम्म रहन्छ ।” (कुरआन ९७:१–५)

कद्रको रात रमजानका अन्तिम दश रातहरु मध्येको बिजोर रातहरु अर्थात रमजानको २१, २३, २५, २७ वा २९ औँ रातहरुमध्येको कुनै एक रात हो । अल्लाहका नबी मुहम्मद (स।) ले भन्नुभयो,“कद्रको रातलाई रमजानको अन्तिम १० दिनको विजोर रातहरुमा खोज ।” (बुखारी)

कद्रको रातमा गरिएको कुनै पनि भक्ति शुद्ध मनले गरियो भने हजारौं महिनाको भक्तिभन्दा पनि बढि सवाब (पूण्य) हुन्छ । कद्रको रातका केही चिन्हरु छन्ः त्यो रात वातावरण राम्रो र शान्तिदायक हुन्छ र भोलिपल्ट बिहान सूर्य रुप सेतो उदय हुन्छ र त्यसमा अधिक प्रकाश हुदैन ।

लैलतुल कद्र दुवा

 “अल्लाहुम्म इन्नक अफुउन् तुहिब्बुल् अफ्वा फाअ्फु अन्नी ।” (तिर्मीजीं)

अर्थात– “हे अल्लाह ! तिमी क्षमा गर्नेवाला हौ, तिमी क्षमा गर्न मन पराउँछौ । तिमी मलाई माफ गरिदेऊ ।”

रमजानमा गर्न हुने र गर्न नहुने कार्य

मिस्वाक गर्नु सुन्नत हो । (बुखारी)

कुरआनको तिलावत गर्नु । (बुखारी र मुस्लिम)

सकेसम्म बढि दान दिनु सुन्नत हो । (बुखारी र मुस्लिम)

झुठो बोल्न र धोका दिन नछोड्ने रोजेदारसंग अल्लाहलाई कुनै वास्ता छैन । (बुखारी १९०३)

नराम्रो व्यवहार गर्नु हुदैन, यदि कसैले झगडा ग¥यो वा गाली ग¥यो भने रोजेदारले “म रोजा बसेको छु” भन्ने जवाफ दिनुपर्छ । (बुखारी)

अपशब्द बोल्नु हुदैन तथा आतंक मच्चाउनु हुदैन । (बुखारी र मुस्लिम)

छुटेको रोजा अर्काे वर्षको रोजा आउनुभन्दा पहिले पुरा गर्नुपर्छ । (बुखारी र मुस्लिम)

सव्वाल महिनाको ६ वटा रोजा राख्न नबी (स।) ले जोड दिनुभएको छ । (मुस्लिम)

रोजा टुट्ने वा नटुट्ने अवस्थाहरु

बिर्सेर केही खायो भने रोजा टुट्दैन तर याद आए लगत्तै मुखमा भएको खाना फाल्नुपर्छ । (बुखारी)

थुक निल्नाले रोजा टुट्दैन । (बुखारी)

दाँतबाट आफै रगत निस्केमा रोजा टुट्दैन तर रगत निल्नु हुदैन ।

खाना चाख्ने स्थिति भए जिब्रोको टुप्पोमा राखेर चाख्न सकिन्छ तर त्यसलाई निल्नु हुदैन ।

चेक जाँचको आवश्यकताले रगत झिकेमा रोजा टुट्दैन । (बुखारी)

औषधीको सुई लिँदा रोजा टुट्दैन तर शक्तिबर्धक सुई लिएमा रोजा टुट्छ ।

रोजा बसेको बेला नाकमा बेस्सरी पानी तान्नुहुन्न, पानी घाँटीसम्म पुग्ने खतरा हुन्छ । (तिर्मीजी)

आफै वान्ता (Vomit) आएमा रोजा टुट्दैन तर जानी बुझी स्वेच्छाले वान्ता गरेमा रोजा टुट्छ । (अबुदाऊद)

स्वप्नदोष (Wet Dream) भएमा रोजा टुट्दैन तर इच्छापूर्ण रुपले वीर्य निष्कासन गरेमा रोजा टुट्छ । (बुखारी)

महिलाहरुलाई महिनावारी हुने बित्तिकै रोजा स्वतः टुट्छ चाहे त्यो सूर्यास्तको समय किन नभएको होस् । रमजानपछि त्यो रोजा पूरा गर्नुपर्छ ।

रोजा बसेको बेला कसैले पत्नीसंग सहवास ग¥यो भने रोजा टुट्छ । उक्त व्यक्तिले अनिवार्य रुपमा कफ्फारा (जरिवाना) अदा गर्नुपर्छ । जरिवानाको रुपमा एउटा गुलाम आजाद गर्ने वा लगातार दुई महिनाको रोजा राख्ने वा ६० जना गरिब व्यक्तिलाई खाना खुवाउनु पर्छ । (बुखारी र मुस्लिम)

 रोजा कसको लागि छुट छ ?

यस रमजान महिनामा प्रत्येक बालिग मुसलमानहरु जो बुद्धि, विवेक राख्दछ एवं जसको दिमागी सन्तुलन बिग्रेको छैन, स्वस्थ छ भने उसले रोजा राख्न अनिवार्य छ । तर बालक, बिरामी, सुत्केरी, महिनावारी भएको महिला तथा बच्चालाई दुध खुवाउने आमालाई बच्चाको लागि दुध नआउने अवस्था छ भने डाक्टरको सल्लाह अनुसार रोजा बस्नु पर्दैन ।

तर, पछि ठिक भएपछि अर्काे रमजान आउनु अगाडि नै छुटेका रोजाहरु राखि सक्नुपर्छ । त्यस्तै कम्तिमा अस्सी-नब्बे किलोमिटर टाढाको यात्रा गरेको छ भने उसको लागि पनि यात्रा अवधि भर रोजा छुट छ तर राख्न चाहन्छ भने राख्न सक्छ ।

उसले पनि छुटेका रोजाहरु पछि पूरा गर्नुपर्छ । यदि कोही एकदम बुढो छ वा कुनै मान्य कारणवश कहिल्यै पनि रोजा बस्न नसक्ने अवस्था छ भने प्रत्येक रोजाको बदलामा गरिबलाई खाना खुवाउनु पर्छ । अरु व्यक्तिको लागि रोजा बस्नु अनिवार्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here