गोरखा, शुक्रबार, २ जेठ २०७७ । लकडाउनका कारण काम खोसिएका गाउँका श्रमिकलाई गोरखाको अजिकोट गाउँपालिकाले पर्यटन पदमार्ग बनाउने काम दिएको छ । दोस्रो चरणको राहत स्वरुप नागेपोखरी जाने पर्यटन पदमार्ग बनाउने काम दिएको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो ।

करिब २० किलोमिटर सो पदमार्ग निर्माणका लागि निश्चित दुरी कायम गरी दस, दस जनाको पाँच वटा समूह बनाई काम गर्ने गाउँपालिकाले निर्णय गरेको छ । पहिलो चरणमा ५० जनाले काम गरेको निश्चित दिनपछि दोस्रो चरणमा उनीहरुलाई फिर्ता गरी दोस्रो चरणमा अर्को ५० जनालाई परिचालन गर्ने गरी गाउँपालिकाले नियम बनाएको छ ।

‘नागेपोखरी, निम्चेपोखरीसम्म जाने पर्यटन पदमार्गका लागि हामीले ७० लाख रुपैयाँ बिनियोजन गरेका छौं’,  ‘यो बजेटबाट पदमार्ग बनाउँदा गाउँका श्रमिकलाई रोजगार पनि मिल्ने, पदमार्ग पनि बन्ने, दुवै हातमा लड्डु हुने भएको छ ।’ जिल्ला दररेट अनुसार दैनिक सात सय साठी रुपैयाँका दरले ज्याला दिने गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो ।

अघिल्लो बर्ष गाउँपालिकाले उक्त पदमार्गका लागि ७० लाख रुपैयाँ बिनियोन गरेको थियो । कार्यक्रम कार्यान्वयन हुन नसक्दा सो बजेट यसबर्ष गाउँकै श्रमिकलाई काम दिएर खर्च गर्ने धितालले बताउनु भयो ।

‘सिरानडाँडादेखि दोबाटा, नागीखर्क, पौनडाँडा, खडेओढार, नागेपोखरी जाने एउटा बाटो बनाउँछौं । फेरि देब्रेतर्फको निम्चेसम्मको अर्को पदमार्ग खोल्छौं ।’ गाउँपालिकाले पहिलो चरणमा चारसय ८० जनालाई राहत दिएको थियो । दोस्रो चरणको राहत कार्यक्रममा उनीहरुलाई नै काम दिने र अरु दक्ष मिस्त्रीलाई पनि थप्ने गाउँपालिको लक्ष्य राखेको छ ।

नागेपोखरीमा काठैकाठको प्रयोग गरी पर्यटन सूचना केन्द्र बनाउने योजना छ । साथै, वनभोज जान चाहनेका लागि भाँडाकुँडा, खरिद पनि गर्ने गाउँपालिकाको कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here