Monday, August 2, 2021
More

    बाग्लुङ्गको ताराखोलामा बहु-सांस्कृतिक सङ्ग्रहालय

    spot_img
    spot_img

    बाग्लुङ्ग, आइतबार, २० असार २०७८ । मगर जातिको बाहुल्य रहेको ताराखोला गाउँपालिका–२ अर्गलमा बहु-सांस्कृतिक सङ्ग्रहालय निर्माणले गति लिएको छ । गत मङ्सिरदेखि निर्माण थालिएको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ ।

    आगामी फागुनभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । बीस २० कोठे सङ्ग्रहालय भवनको दोस्रो तला अहिले ढलान भइरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । रु दुई करोड १६ लाख बजेटमा जुम्ली निर्माण सेवाले सङ्ग्रहालय बनाउने जिम्मा पाएको थियो ।

    सङ्ग्रहालय निर्माणमा सङ्घ सरकारसँग गाउँपालिकाको लागत साझेदारी छ । गाउँपालिकाको रु ५० लाख, पूर्वसांसद देवन्द्र पौडेलको ‘सांसद विकास कोष’ को रु ५० लाख र बाँकी बजेट पर्यटन मन्त्रालयले दिएको हो ।

    परापूर्वकालदेखिको समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी सङ्ग्रहालय बन्ने अध्यक्ष घर्तीको बताउनु भयो । “मौलिक कला, संस्कृतिको संरक्षण होस् भन्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “सङ्ग्रहालयले नयाँ पर्यटकीय आकर्षण पनि थप्छ ।”

    सङ्ग्रहालयको पहिलो तलामा पुरातात्विक महत्वका वस्तु र परम्परागत सामग्री सङ्ग्रह गरिने भएको छ । राजनीतिक परिवर्तनको आन्दोलनमा ताराखोलाले पुर्‍याएको योगदान समेटिएका तस्वीर, वृत्तचित्रजस्ता सामग्री दोस्रो तलामा राख्ने योजना गाउँपालिकाको छ ।

    तत्कालीन माओवादी सशस्त्र युद्धमा ताराखोलाका २७ जनाले शहादत प्राप्त गरेका थिए । सङ्ग्रहालयले सिङ्गो गाउँपालिकाको इतिहास, कला, संस्कृतिका साथै ताराखोलामा रहेका सबै जातीय समुदायको पहिचानको प्रतिनिधित्व गर्ने जनाइएको छ ।

    सङ्ग्रहालयलाई पछि सांस्कृतिक अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यक्ष घर्तीले बताए। सांस्कृतिक एकता र भाइचारालाई पनि सङ्ग्रहालयले प्रतिबिम्वित गर्नेछ ।

    बहुसांस्कृतिक सङ्ग्रहालयले ताराखोलालाई नयाँ चिनारी दिने स्थानीय शिक्षक एवं मगर अगुवा बिर्बलाल घर्तीले बताए । सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले गरेको लगानी स्वागतयोग्य रहेको उनको भनाइ छ ।

    मगर जातिका अनेक परम्परा, रीतिथीति र पर्व ताराखोलामा प्रचलित छन् । ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगरले ताराखोलामा थातथलो बसाएका थिए । तीनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्राएका पर्व र मेलालाई अहिलेका पुस्ताले पनि जोगाइरहेका छन् ।

    ऐतिहासिक भुस पोल्ने पर्व, भदौरे सिस्नो खोस्ने पर्व, असारे मेला, बर्खे मेला आदि ताराखोलाका रैथाने संस्कृति हुन् । हरेक पर्वका आआफ्नै परम्परा र विशेषता छन् । संरक्षण र पुस्तान्तरण नहुने हो भने परम्परा लोप हुने खतरा छ ।

    सङ्ग्रहालय निर्माणसँगै अन्य पूर्वाधार निर्माणका क्षेत्रमासमेत ताराखोलाले फड्को मारिरहेको छ । यसअघि सुविधासम्पन्न सभागृह बनाइसकेको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई पनि तीब्रता दिएको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    twenty − five =