Monday, March 1, 2021
More

    पशुपतिनाथ मन्दिर खुल्ला

    काठमाडौँ, बुधबार, १ पौष २०७७ । हिन्दु धर्मावलम्बीहरुको मुख्य धार्मिक तिर्थस्थल पशुपतिनाथ मन्दिर ९ महिनापछि आजदेखि खुलेको छ । मन्दिरको ढोका खुलेसँगै आज बिहानैदेखि पाशुपत क्षेत्रमा सर्वसाधारण भक्तजनहरुको चहलपहल बढेको छ ।

    मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमासहित विशेष पूजा गरेकी थिइन् । त्यस अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिनुभयो ।

    आजदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्थापन पक्षले जनाएको छ । मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन ।

    पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने डा.थापाले बताउनु भयो । विभिन्न संस्थाले लामो समयदेखि पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका थिए ।

    चैतदेखि पशुपतिनाथ मन्दिर बन्द हुँदा कोषलाई करीब ७० करोड रुपैयाँ घाटा लागेको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here