सन् २०१९ को अन्त्यतिर देश छाडेर परदेश आउँदा मन अमिलो थियो । जहाजको झ्यालबाट एकपल्ट मधुरो हुँदै गएको काठमाडौं सहर हेरेँ । त्यसपछि ‘अब चाहिँ साँच्चै कतै टाढा जाँदैछु’ भन्ने भयो ।

गोरखा अनि काठमाडौं हुँदै नेपाल छोडेर अस्ट्रेलिया आएको पनि पाँच महिना भइसकेछ । यी महिना कसरी बिते, पत्तै पाइरहेकी छुइनँ ।

सुरूका केही महिना त घुमघाम र रमझममै बित्यो । तिहारको बेला थियो, सायद नेपालीहरूको बाक्लो बसाइ भएर होला, यहाँ पनि नेपाल जस्तै लाग्यो ।

आएको दिनमै मःम पार्टीले स्वागत, अनि भोलिको देउसीभैलो कार्यक्रम। विदेशमा पनि स्वदेशी मायाले म आश्चर्यचकित थिएँ। सबैप्रति आभारी पनि ।

विस्तारै म यताको रहनसहन र परिवेशमा घुलमिल हुँदै थिएँ । ‘बुस फायर’ले अस्ट्रेलियालाई तहसनहस पारिदियो। करौडौंको क्षति भयो। दिनानुदिन डढेलोको खबरले मन त्रसित भइरहन्थ्यो। कक्षामा पनि सबैको ध्यान अनि कुरा पढाइमाभन्दा धेर डढेलामै हुन्थ्यो । आज डढेलो कहाँसम्म फैलियो, हामीभन्दा कति पर छ? यस्तै कुराले हामी चिन्तित हुन्थ्यौ ।

शिक्षकहरू पनि यस्तो खडेरी पहिले कहिल्यै नदेखेको भन्दै वर्षाका लागि प्रार्थना गर्थे। हामीलाई भने, आगलागीले रंगाएको यहाँको आकाश अनि प्रदूषण देख्दा पनि नेपालकै झल्को आइरहन्थ्यो । विस्तारै सबै कुरा सामान्य हुँदै थियो। कोरोना भाइरसले संसार नै तहसनहस पारिदियो ।

मलाई लाग्न थालेको छ, मेरा दुई वर्ष यस्तैयस्तैमा बित्ने हुन कि ? यो परदेशसँग धेरै आश गरेर आएकी त थिइनँ, तर पनि केही गर्छु-सिक्छु, केही हदसम्म भए पनि आमाबाका सपना पूरा गर्छु भनेर आएकी थिएँ । यो सबथोक भोगिरहँदा आजकल कताकता मनमा चिसो पस्छ- भोलि के हुने हो चिन्ता लाग्छ ।

अचेल मन बेचैन हुन्छ, छट्पटिन्छ । न खुलेर रमाउन सक्छु, न दुःखी भएर बसिरहन। रमाइलो गर्न मसँग साथीसंगी छन् । आफ्नो रहरको काम गर्न समय छ। घन्टौं फेसबुक चलाएर बस वा संसारका कुनाकाप्चामा छरिएर बसेका मित्रजनसँग भलाकुसारी गरेर बस- इन्टरनेट सुविधा छ ।

तर, यो मनमा बेग्लै खालको छटपटी र औडाह छ। कोरोना कहरले सबथोक लथालिंग र भताभुंग भएको देख्दा आज त रमाउँला, भोलि के गरौंला भन्ने पिर लाग्छ ।

अझ, म जस्ता भर्खरै मात्र पढ्न आएका अन्तर्राष्ट्रिय विधार्थीलाई त के–के समस्या पर्छ त्यो भनि राख्न नपर्ला । पत्रपत्रिका र टेलिभिजनमा आइरहेकै छन्, सामाजिक सञ्जालमा त झन् चाहिनेभन्दा बढी भाइरल भइरहेकै छन् ।

यो सब देखेर म सधैं दुःखी भइरहन पनि सक्दिनँ । किनकी मलाई थाहा छ, म एक्लो छैन। सबैलाई यस्तै परेको छ । यो बेला झुपडीमा बसून् वा महलमा, सबले आफ्नै खालका पीडा महशस गरेका छन्। अनि सबैलाई आफ्नै समस्या ठूलो लागेको छ ।

हिजोआज जिन्दगी नै कस्तो कस्तो बनेको छ । आधा रातसम्म निद्रा नलागेर मोबाइलमा संसार चिहाउनु अनि मध्यदिनमा उठ्नु मेरो दिनचर्या बनेको छ । मलाई न छिट्टै उठेर काम जाने हतार छ, न त विश्वविद्यालय पुग्न। म उठूँ, सुतूँ, खाऊँ, नखाऊँ, जे गरूँ, घरको चार कोठाभित्र । मेरो लागि सबथोक खुला छ, सबथोक छुट छ अचेल ।

कुनै दिन, हामीमध्ये धेरैले यस्तै कुराको इच्छा गरेको हुनुपर्छ। तर पनि खै त यहाँ सन्तुष्टि, खै त यहाँ हृदयदेखिको खुसी ?

कारोनाका कारण घर बसेको महिना दिन पुग्न लागिसक्यो । अझ कति दिन यसरी बस्नुपर्ने हो, थाहा छैन। घर बसिरहँदा भएभरका फिल्म हेरेर र गेम खेलेर भ्याइसकेँ। तासको जुटपत्ति मात्र आउने मलाई अचेल म्यारिजबाहेक सबथोक आउँछ भन्दा फरक नपर्ला ।

बाघचालबारे सुनेकी मात्र थिएँ, साथीसंगीले घरमै कागजको टुक्राले बनाएर सिकाएदेखि त्यै आजकल ‘फेभरेट’ बनेको छ । केही नहुँदा मोबाइलमा लुडो पनि खेल्छु र दिन कटाउँछु । मन भुलाउँछु ।

यस्तै बेला विश्वविद्यालयले फेरि ‘असाइनमेन्ट’हरू दिन्छ, अनलाइन क्लास के–के हो, गरौं भन्छ । तनमन बेचैन भइरहेका बेला पढाइमा पनि के मन जान्छ र ? उताबाट त्यत्रो पैसा तिरेर पढ्न आइयो । यता विश्वविद्यालयको अनलाइन ‘पावर प्वाइन्ट’ र एक-दुई घन्टे लेक्चरमा भुलिनु परेको छ । चित्तै बुझ्दैन, तर पनि बुझाउनु परेको छ ।

कोरोना सबैका लागि एक अप्रत्याशित वास्तविकता बनिसकेको छ । यस्तो होला भनेर न कसैले सोचेका थिए, न कोही यसबारे तयार नै ।

म सँग आज जति गुनासा गर्ने ठाँउ छन्, सायद चित्त बुझाउने ठाउँ पनि उत्तिकै छन् । कोरोनाले संसारभरका लाखौं मान्छे संक्रमित भइरहँदा, म स्वस्थ छु । हजारौं भोकभोकै परिरहँदा, दुई छाक मिठो मसिनो खाइरहेकै छु । टाढा होस् या नजिक ‘के छ हालखबर, सन्चै छौ ?’ भनेर सोध्ने साथीसंगी र शुभचिन्तक पाइरहेकै छु ।

अर्काकै देशमा किन नहोस्, आफ्ना सोच्नेहरू भेटेकी छु । आमाबाको आर्शीवाद लागेकै छ ।

अनि।।। परिस्थिति जस्तोसुकै होस्, यो मुस्कान सधैं यस्तै रहोस् भन्दै हर दुःखसुखमा साथ दिने प्यारो मान्छे छन् । अहिलेलाई खुसी हुन योभन्दा बढी के चाहियो र…….

२०७७ साल बैशाख ७ गते आइतबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here