गोरखा, २५ चैत २०७६ । नोबेल कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका वडा न ७ ले गाउँमा आएका पाहुनालाई समेत स–सम्मानु आफ्नै घर फर्काउन थालेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो । सो समितिले सोमबार (२४ चैत) बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घरबाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो ।

“कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गठित प्रतिकार्य समिति २४ सै घण्टा सजग अवस्थामा रहन्छ भन्दै वडाध्यक्ष ढकालले गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै समितिको बैठक बसेर आवश्यक निणर्य गर्ने पनि बताउनु भयो ।

सो समितिले गाउँमा आएका पाहुनालाई की १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको उहाको भनाई छ । सोही गाउँपालिकाले पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सचेतता अपनाउन भन्दै १ सय ४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

“प्रतिकार्य समितिले गाउँभित्रका लागि अत्यावश्यकबाहेक गाउँ बाहिर पनि जान दिँदैन र गाउँ बाहिरकालाई गाउँमा आउन पनि दिदैँन”, अध्यक्ष गुरुङ बताउँछन् । साथै, प्रतिकार्य समितिले गाउँपालिकाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको जानकारी दिँदै अध्यक्ष गुरुङले गाउँपालिकाभित्र प्रवेश गर्ने र बाहिर निस्कने सबैको लागत प्रतिकार्य समूहले राख्ने गरेको खुलासा गर्नुभयो ।

त्यसैगरी, पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको बताइएको छ । विदेशबाट आउनु भएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको र क्वारेन्टाइनमा बसेकाले नियम पालना गरे–नगरेकोसमेत दिनहुँ अनुगमन हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here