February 24, 2024
खेलकुद

‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को तयारी सुरु

पोखरा, बुधबार, २७ मङ्सिर २०८० । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुन पहिलो साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनको १८औँ संस्करण आगामी फागुन ५ गते शनिबार हुँदैछ । यसको विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता भइसकेको छ । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेल पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको र पछिल्लो समय म्याराथनमा अन्तर्राष्ट्रिय सहभागिता बढेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो ।

पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो । विश्वका ठूला शहरमा आयोजना हुने म्याराथन जस्तै पोखरा म्याराथन सधैँ चर्चामा रहेको अध्यक्ष पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म्याराथन आयोजनाले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको छ । पोखराको ठूलो इभेन्टका रूपमा स्थापित भएको छ, १८औँ संस्करणमा ५० भन्दा बढी देशका धावक पोखरा आउने विश्वास लिएका छौँ ।’
म्याराथनका लागि मञ्चले विभिन्न उपसमिति गठन गरी तयारीमा जुटेको अध्यक्ष पराजुलीले बताउनुभयो । म्याराथनमा विदेशी धावकको संख्या बढाउनका लागि वैदेशिक समन्वय उपसमिति गठन गरी विदेशमा पनि प्रचारप्रसार गरिएको छ ।

संस्थाका प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङले पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको बताउनुभयो । उहाँले सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्यलगायत विभिन्न विषयमा तयारीका काम अघि बढाइएको छ ।

म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकका अध्यक्ष हरिप्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दीलबहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ उपसमितिको संयोजक रहनुभएको छ ।

यसैगरी अनुगमन तथा निरीक्षण उपसमिति संयोजकमा द्वितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल र प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *