काठमाडौं, सोमबार, ५ जेठ २०७७ । नेपाल पत्रकार महासंघले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि क्रमशः बढ्दै गएको आजको जटिल परिस्थितिमा अग्र भागमा रहेर समाचार संकलन गर्नुपर्ने सञ्चारकर्मीहरु थप जोखिममा पर्दे गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अहिलेसम्म ४ जना सञ्चारकर्मी कोभिड १९ को संक्रमणमा परेको र चारैजना पत्रकारहरु अहिले स्वास्थ्य उपचार गराइरहेको महासंघले जनाएको छ । ‘कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल गरिरहेको छ,’ महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसम्म ३ सय ५० भन्दा बढी सञ्चारकर्मीहरुको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने अन्य पत्रकारहरुको परीक्षणका लागि आवश्यक प्रबन्ध भइरहेको छ ।’

महासंघले आमसञ्चारकर्मीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन तथा सम्प्रेषण गर्न अपिल गरेको छ ।

अति आवश्यक समाचार संकलनका लागि मात्रै कार्यस्थल जान र अनावश्यक भीडभाड नगरी सतर्कतापूर्वक समाचार संकलन गर्न पनि महासंघले आग्रह गरेको छ ।

‘पछिल्लो समय प्रेस लेखिएका सवारी साधन र प्रेस ज्याकेट लगाएर भीडभाड गर्ने, अनावश्यक हिँडडुल गर्ने र प्रेसको दुरुपयोग भइरहेकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस लेखेका सवारी साधन र ज्याकेट सञ्चारकर्म बाहेक अन्य प्रयोजनका लागि प्रयोग नगर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले लकडाउन पछि प्रकाशन तथा प्रसारण बन्द भएका सञ्चारमाध्यम सम्बद्ध सञ्चारकर्मीहरुलाई प्रेसको प्रयोग गरेर हिँडडुल नगर्न आग्रह गरेको छ । ‘यूटुव र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मर्यादा भित्र रहेर गतिविधि गरी आमसञ्चारकर्मीहरुको काममा सहयोग पुर्‍याउन महासंघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघले प्रेसको दुरुपयोग सम्बन्धी अनुगमन गरिरहेको छ । साथै, यस्ता दुरुपयोग रोक्न सम्बन्धित निकायले समेत अग्रसरता लिन महासंघ आग्रह गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here