काठमाडौँ, सोमबार, ५ जेठ २०७७ । प्रेसको नाममा परिचयपत्र बनाई पत्रकारिताका मूल्य र मान्यता विरोधी गतिविधि हुने गरेकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस संक्रमण (कोभिड-१९) का कारण उत्पन्न बन्दाबन्दीको वर्तमान समयमा स्वघोषित पत्रकार हुँ भन्दै प्रेस लेखेर सवारी साधन प्रयोग गर्ने, ज्याकेट धारण गर्ने तथा प्रेसको नाममा परिचयपत्र बनाई पत्रकारिताका मूल्य र मान्यता विरोधी गतिविधि हुने गरेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

गैर पेशागत आचरणप्रति प्रेस काउन्सिलको पछिल्लो धारणा पत्र जारी गर्दै केही दिन पहिला ‘पत्रकारिता’ को आवरणमा हातहतियार ओसारपसार गर्ने, नागरिक तथा फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीहरुप्रति दुव्र्यवहार तथा खानतलासी र केरकार गर्ने एवं कतै पनि जवाफदेही हुनुनपर्ने युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालका टुल्सहरुमार्फत् अफवाहपूर्ण प्रचारप्रसार गर्नेजस्ता कार्यहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत नपर्ने प्रेस काउन्सिलले ठहर गरेको छ ।

काउन्सिलले विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, सम्बद्र्धन र प्रचलनका पक्षमा अडिग रहँदै पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवम् उत्तरदायी बनाउन पत्रकार आचारसंहिता निर्माण गरी त्यसको कार्यान्वयन र निरन्तर अनुगमन गरिरहेको प्रेस काउन्सिल जनाएको छ । यस सन्दर्भमा पत्रकारिताको मूल्य, मान्यता र आधिकारिकतासँग गाँसिएका पेशागत गतिविधिबाहेक अन्य खालका क्रियाकलापहरु पत्रकारिताको परिभाषाभित्र नपर्ने काउन्सिलले स्वतः स्पष्ट पारेको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न आजको जटिल परिस्थितिमा सबैखालका सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिता र कोरोना भाइरस संक्रमणका सम्वन्धमा आम सञ्चारमाध्यम र पत्रकारका लागि जारी निर्देशिका पालनाप्रति पुनः आग्रह गर्दै पत्रकारिता जस्तो पवित्र पेशाको आवरणभित्र अन्य खालका गतिविधि नगर्न, नगराउन सरोकारवाला सबै पक्षसंग प्रेस काउन्सिल नेपालले सबैमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here