काठमाडौँ, बुधबार, ५ फागुन २०७७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी गरिएको मूल्य वृद्धिलाई निगमले ‘मूल्य समायोजन गरिएको’ भनेको छ ।
निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिका हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।
मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको बताइएको छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने निगमको भनाइ छ ।
सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जानकारी दिइएको छ । मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
