पोखरा, बुधबार, २१ जेठ २०७७। जिल्ला बचत संघ कास्कीले प्रदेश विपद् व्यवस्थापन कोषमा चार लाख एक हजार पाँच रुपैया प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई संघका अध्यक्ष भेषराज बरालले उक्त रकम बरावरको चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ । कोरोना भाइरसको कारण संघीयतको औचित्य पुष्टि भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा रोकथाम तथा नियन्त्रणका काम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

वर्तमान सन्दर्भमा प्रदेश र स्थानीय तह बीच अझै समन्वयका साथ अघि बढेमा कोरोना रोकथामलाई जित्न सकिने बताउँदै मुख्यमन्त्री गुरुङले रोग र भोक सहितका यावत समस्या समाधान गर्न समन्वय र एकता अपरिहार्य भएकोमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा संघका अध्यक्ष भेषराज बरालले संघले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बचत संघमा दुई सय ७६ बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेको जानकारी दिनुभयो ।

चेक हस्तान्तरण कार्यक्रमा निवर्तमान अध्यक्ष सुदिप ढकाल, उपाध्यक्ष श्रीकान्त ढुंगाना, सचिव इश्वर सुवेदी, कोषाध्यक्ष शेरबहादुर कार्की, प्रचारप्रसार उपसमितिका सदस्य हरिप्रसाद बास्तोला लगायतको उपस्थिति रहेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here