May 18, 2024
पालिका विशेष

बारपाक सुलिकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाई सम्पन्न

गोरखा, शुक्रबार, ३० चैत्र २०८० । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिक अवधीमा गरेका सेवा प्रवाह र विकास निर्माणका योजनाहरुको बारेमा नागरिकहरुको गुनासो, सुझाव बुझ्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरुले कृषि शाखा मार्फत वितरण गर्ने गरिएको अनुदानमा विपन्न र एक महिलाहरुलाई प्राथामिकता दिनुपर्नेमा जोड दिएका छन् । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारीका लागि छनौट गर्दा अतिविपन्न व्यक्तिलाई छनौट गर्नुपर्ने, बर्षमा न्युनतम एकसय दिनका लागि रोजगारी दिने भनिएपनि ६÷७ दिनमात्र रोजगारी पाएको नागरिकहरुले गुनासो गरेका थिए ।

स्थानीय शिक्षकहरुलाई अन्तरविद्यालय सरुवा गरेर विद्यालय शिक्षा सुधार गर्नपनि सहभागीहरुले गाउँपालिकालाई सुझाव दिएका छन् । जथाभावी वन डढेलोले वातावरण प्रदुशित बन्दै गएको, कृषि शाखाले उपलब्ध गराएको च्याउको विउले राम्रो उत्पादन नदिएको, वडामा गठित मेलमिलाप समितिलाई पुर्नताजगी तालिम प्रदान गर्न ढिलाइ भएको सहभागीको भनाई थियो । पहिलेको तुलनामा विकासको गति राम्रो भएको भएपनि अनुगमन भने प्रभावकारी हुन नसकेको समेत कतिपय नागरिकहरुको गनुासो रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्याप्त बजेट नआउदा भने जति समय रोजगारी दिन नसकिएको बताउनुभयो । उहाँले रोजगार कार्यक्रममा उत्पादनमूलक काममा लगाएर प्रतिफल प्राप्त हुने गरी काम गर्ने योजनामा गाउँपालिका रहेको समेत बताउनुभयो ।

त्यस्तै गाउँपालिकामा संघीय सरकारको अनुदान रकम गत दुई बर्षदेखि घटेर आएकाले वडाहरुमा बजेट बृद्धि गर्न नसकिएको, पालिका भित्र राजस्व बढाउन राजस्वको दायरा फराकिलो बनाउने गाउँपालिकाले रणनीति तय गरेको उहाँले बताउनुभयो । अध्यक्ष भट्टले प्रदेश र संघका योजनाहरको समयमा सम्पन्न नहुने र गुणस्तरीय काम नहुने गर्दा समस्या भइरहेको भन्दै गाउँपालिकाका तर्फ नियमित खबरदारी भइरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय उत्पादन बृद्धि र स्थानीय उत्पादनको प्रयोगमा सवैले जोड दिनुपर्ने समेत वताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष सनमाया गुरुङले ४८ घण्टा तालिम लिएका मेलमिलापकर्ताहरुलाई थप तालिम दिनु नपर्ने बताउनुभयो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद पनेरु, वडा नम्बर ८ का वडाध्यक्ष लक्ष्मण गुरुङ, गाउँपालिका शिक्षा शाखाका प्रमुख पवित्रा शर्मा, स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्ट, कृषिशाखाका प्रमुख विनोद बि.क, पशुशाखाका प्रमुख हिक्मत बहादुर खड्का लगायतले सहभागितहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ८ को कार्यालयमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *