गोरखा, बिहिबार, ८ साउन २०७७ । गोरखाको सिरानचोक गाउँपालिकाको गत बुधबार सम्पन्न छैठौं गाउँसभाबाट गाउँपालिकाको केन्द्र चित्रेपोखरी घोषणा भएसंगै कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध भएको छ ।

सिरानचोक गाउँपालिकाले प्रशासकीय भवन लगायत बिभिन्न कार्यालय भवन निर्माण गर्न जग्गा जुटाएको छ । कार्यालय भवन निर्माणका लागि पहिलो चरणमा २८ रोपनी जग्गा प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

नौ जना बाट प्राप्त २८ रोपनी जग्गा बुधबार मालपोत कार्यालयबाट प्रक्रियागत रुपमा स्वामित्व हात पारेको हो । गाउँपालिकाले प्रहरी चौकी निर्माण गर्नका लागि पाँच रोपनी जग्गा उपलब्ध गराएको छ । ‘छिट्टै आठ रोपनी जग्गा पनि हात पर्नेछ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘त्यहाँ गाउँ कार्यपालिकाको प्रशासकीय कार्यालय निर्माण हुनेछ ।

साथै, स्वास्थ्य शाखा, शिक्षा शाखा, कृषि र पशु शाखा, बहुउद्देश्यीय सेमिनार हल निर्माण हुनेछन् ।’ भवन निर्माण नहुञ्जेल अब गाउँपालिकाका कार्यालयहरु चित्रपोखरीबाटै सञ्चालन हुनेछन्, गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

हाल छोप्राकबाट सञ्चालन भइरहेको गाउँपालिकाको कार्यालय अब चित्रेपोखरीबाट सञ्चालन हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । भवन निर्माण नहुञ्जेल गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा, स्वास्थ्य, कृषि, पशु शाखाका भवनहरु सोही ठाउँमा सञ्चालन हुने उहाँले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here