आइपीएम फ्लोअप

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे भाद्र १९ गते नेपाल आउँनु हुँदै

काठमाडौँ, मंगलबार, १५ भाद्र २०७९ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउनु हुने भएको छ ।

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे भाद्र १९ गते पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउनु हुने कार्यक्रम रहेको छ ।

पाँच दिवसीय भ्रमणका दौरान जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान निरीक्षण, प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग भेटघाट एवं छलफल,भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हे.क्वा.को भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । साथै, उहाँले आफ्नो भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published.