स्वास्थ्य

भीमसेन थापामा १२० जनाको नि:शुल्क मोतियाबिन्दु अप्रेसन

गोरखा, शनिबार, १ असोज २०७९ । गोरखाको भीमसेन थापा गाउँपालिकामा १ सय २० जना आँखाका बिरामीहरुको नि:शुल्क आँखाको अप्रेसन गरिएको छ । गाउँपालिका भित्र भदौं १८ गतेदेखि सुरु भएको आँखा शिविरमा आँखाको जाँच गराएका मध्ये अप्रेसन गर्नुपर्ने बिरामीहरुको बिहिबार र शुक्रबार आँखाको अप्रेसन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

भीमसेन थापा गाउँपालिकाको आयोजना, श्री जनचेतना युवा क्लब, नेपाल नेत्रज्योती संघ हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पताल चितवन, नेत्रहिन संघ पुनस्थापना कार्यक्रम गोरखाको स्वामित्वमा निशुल्क आँखा शिविर सञ्चालन भएको हो । भदौ ३१ गतेसम्म भएको शिविरमा १ हजार भन्दा बढी आँखाका बिरामीहरुले आँखा जाँच गराएको उहाँले शाखा प्रमुख खनालले बताउनुभयो ।

गाउँपालिकाको समन्व्यमा यहीँ भदौं १९ गतेदेखि ३१ गतेसम्म पालिका भित्र टोलटोलमा निशुल्क आँखा शिविर सञ्चालन भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिनुभयो ।

टोलमा गएर उपचार गराएर अप्रेसन गर्नुपर्ने बिरामीहरुको भदौ ३० र ३१ गते अश्राङ स्वास्थ्य चौकीमा अप्रेसन शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्रका बिभिन्न वडाका १० स्थानमा शिविर सञ्चालन भएको अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.