रोल्पा, उमा के सी, शुक्रबार, १९ भाद्र २०७७ । अघिल्लो वर्ष वैशाख महिनमा ८३ वर्षीया आमाको मृत्युपछि आमाको सम्मान र सम्झनामा रोल्पा सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले घर नजिक चौतारी बनाए ।

आमाको मृत्यु भएको तिथिमा हरेक वर्ष उनी सोही चौतारीमा पुगेर आमाप्रति श्रद्धाञ्जलि दिन्छन् र आमाको सम्झना मनमा बोकेर घर फर्कन्छन् । तीन वर्षको उमेरमा बुबा गुमाएका रोल्पाका पत्रकार खेम बुढालाई बुबाको अनुहार नै याद आउँदैन ।

उनले आफू सानो छँदा बुबाको मृत्यु भएको कुरा आमाको मुखवाट सुनेका हुन् । बुढालाई बुबाको सम्झना बढी नै आयो भने घर नजिकै रहेको बिसौनी पुग्छन् र धित नमरुञ्जेल बुबाको नाममा बनाइएको बिसौनीमा टोलाएर हेरिरहन्छन् । बुबा मात्र होइन पुस्तौँसम्मका पितृको लहरै बनेको चौतारी बुढालाई पितृको स्मरण गर्ने एक भावनात्मक माध्यम बनेको छ ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष पुन र पत्रकार बुढाजस्तै रोल्पाका आदिवासी जनजाति मृतक आफन्तको सम्झनामा चौतारी बनाउने गर्छन् । यसैलाई ‘चिनो चौतारी’ भनिन्छ र नै यहाँका मगर समुदायको संस्कृतिका रुपमा मानिन्छ । यो यहाँको सदियौँ पुरानो चलन हो र यसलाई यहाँको पछिल्लो पुस्ताले पनि पछ्याइरहेको छ । अहिले पनि यहाँ यो एक प्रकारको जीवन्त संस्कृतिका रुपमा मानिएको छ ।

चिनो चौतारी जनजाति समुदायभित्र मगरहरुले धुमधामका साथ बनाउने गर्दछन् । चिनो चौतारी आफन्त मरेको १३औँ दिनदेखि छ महिनाको बीचमा बनाउने चलन छ । कसैले मृतकको तेह्रौँ दिनको शुद्धकार्यका दिन निर्माण गर्छन् भने कसैले तीन वा छ महिनाभित्र गर्ने गरेको मगर संस्कृतिका जानकार स्थानीयवासी खेमबहादुर बुढामगरले बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकारसमेत रहेका बुढाका अनुसार आफन्त टाढा रहेकाहरुले केही समय ढिला गरेर चिनो चौतारी निर्माण गर्ने गर्दछन् । हरेक परिवारको फरक–फरक चौतारी हुने गर्छ । थपिएका नयाँ मृतककोसमेत सोही लहरमा शिलालेखसहितको चौतारी बनाइन्छ । ढुङ्गामा लेखिएको व्यहोरा सबैले सुन्नेगरी वाचन गरिन्छ । चौतारीमा राखिएको त्यस शिलालाई मृतकको प्रतिकको रुपमा हरेक वर्षको तिथिमा पूजा गर्ने गरिन्छ । यसलाई मगरहरु पितृलाई श्वास बुझाउने भन्छन् ।

मगरहरुको मृत्यु संस्कारको रुपमा वृक्षी जाने चलन पनि छ । चोप निस्कने रुखमा मृतक श्रीमान्को नाममा श्रीमतीले र बुबाको नाममा छोराहरुले आफूले लगाएका कपडा र टोपी रुखमा छोडेर घर फर्कने चलन छ । पुराना कपडा रुखमा झुण्ड्याएसँगै उनीहरुलाई माइती र मावली पक्षले दिएका नयाँ कपडा लगाएर घर फर्कने चलन रहेको छ ।

शिलासहित बनेको चौतारीमा बिरुवा रोप्ने चलन छ । शिलापत्र तयार गर्ने र बिरुवा रोप्ने आफ्नै विधि र मान्यता रहेको हुन्छ । शिलापत्रमा मृतकको सामान्य परिचय खुलाइएको हुन्छ । मृतकको तीन पुस्ते विवरण खुलाएर लेखिने सो शिलापत्रमा चिना चौतारी बनाइदिनेहरुको पनि नाम उल्लेख गरिएको हुन्छ । तीन वा पाँच कन्या राखेर जैसीले विधिपूर्वक शिलाको अनावरण गर्दछन् । चौतारीमा बर पिपल, लाँकुरी, पाखरीजस्ता छहारी दिने बिरुवा लगाउने चलन भए पनि आजभोलि आँप, अम्बाजस्ता फलफूल रोप्ने चलन बढ्दै गएको नेपाल मगर सङ्घ रोल्पाका अध्यक्ष कुमबहादुर पुनको भनाइ छ ।

चौतारीमा रोप्ने बिरुवा भने ईष्टले ल्याउनुपर्छ । मृतकका बहिनी र छोरीका श्रीमान् (ज्वाइँ) ले ल्याएको बिरुवा चौतारीमा रोपिन्छ । धेरै ईष्ट हुनेहरुमा त कसले रोपेको बिरुवा राम्रो हुने भनेर प्रतिस्पर्धा नै हुन्छ अध्यक्ष पुनले भने । रोपेको बिरुवा हुर्काउने जिम्मेवारी पनि ईष्टकै हुन्छ ।

हरेक वर्ष साउन र माघमा मृतकको तिथि पारेर चिनो चौतारीको पूजा गर्दछन् । “उधौली र उभौली भनेर दुई पटक पितृको सम्झना गरिन्छ । मगरहरु बिहीबारलाई सेउरेबार मान्ने हुनाले उधौली उभौलीमा बिहीबार मात्रै चिना चौतारीको पूजा गर्ने गरिन्छ पुनले” अध्यक्ष पुनले भने । पितृ पूजामा धेरै परिकार जुटाउनुपर्ने भएकाले त्यस्ता परिकार माघे सङ्क्रान्तिमा जुट्ने हुँदा सो दिन पनि चिनो चौतारीको पूजागर्ने चलन छ । माघे सङ्क्रान्तिको दिन भने बार हेरिँदैन उनले भने ।

आमा बुबाको चिनो चौतारी वनाउने जिम्मेवारी छोराछोरीको हुन्छ । बुबाआमाको मृत्युपश्चात नातीनातिनाले भने मृतक वाजेवज्यैलाई विदाई गर्ने चलन छ । “बुबाआमाको पूजा गर्दा त्यसअघिका पितृलाई कुलको रुपमा पूजा गर्ने गरिन्छ” समाजसेवी कृष्णबहादुर घर्ती मगरले भने। चिनो चौतारी पूजा गर्दा हरेक वर्षको तिथिमा भाले काटेर रगतका साथै रक्सी र अन्य परिकार चढाउने चलन छ । मृतक महिलाको औँशीमा र पुरुषको पूर्णिमामा यस्ता चौतारी बनाउने चलन छ । कसैकसैले मृत्युपूर्व नै आफ्नो चिनो चौतारी बनाउने पनि गरेका छन् ।

परम्परा जोगाउन मुस्किल

मृतक आत्माको सम्झना र सम्मानका लागि गरिने यो परम्परा अथारमगरात क्षेत्रमा जीवन्त रहे पनि पछिल्ला दिनमा हुँदै गएको यातायातको विकासले यसको मूलमर्म परिवर्तन हुने अवस्था आएको पनि देखिएको छ । पहिले गह्रौँ भारी बोकेर घन्टौँ तथा दिनहुँ हिँड्नुपर्ने बटुवालाई लक्षित गरेर यस्ता चिनो चौतारी बनाउने गरिएको थियो । चर्काे घाममा ठूलो भारी बोकेर हिँड्ने भरिया र अन्य बटुवाहरु यस्ता चौतारीमा बसेर थकाई मार्ने चलन थियो । भारी बोक्दा सास फेर्न गाह्रो हुने गरेकाले शीतल तथा बढी अक्सिजन दिने खालका बर पिपललगायतका बिरुवा लगाउने प्रचलन थियो । तर देशका धेरैजसो ठाउँमा सडकको विस्तार हुँदै गएपछि ती बर पिपलको छहारीसहितका चौतारी पनि हराउन पुगेका छन् । त्यसैले पनि यो संस्कृतिको सामाजिक महत्वसमेत घट्न थालेको देखिएको छ ।

पछिल्ला दिनमा सडक विस्तारसँगै प्रतिक्षालय बनाउने कामको थालनी हुन थालेको छ । घरनजिक सामान्य खालको चिनो बनाउने र बस बिसौनीमा चौतारी तथा प्रतिक्षालय बनाउन थालिएको नेपाल मगर सङ्घ रोल्पाका अध्यक्ष कुमबहादुर पुनले बताए। परम्परागत संस्कृति बनेको चिनो चौतारी बनाउने काम पछिल्लो पुस्ताले पनि अनुशरण त गरेको छ तर समाजमा विकासको गतिसँगै केही परम्परामा परिवर्तन पनि हुँदै गएको छ । यातायात क्षेत्रमा आएको परिवर्तनले हाम्रा कतिपय यस्ता सांस्कृतिक आयाम पनि परिवर्तन ल्याएको स्पष्ट देख्न सकिने स्थानीय अगुवाहरु बताउँछन् ।

अथार मगरात क्षेत्रमा नै मृत्यु संस्कारमा एकरुपता छैन । तेह्रौँ दिनको पुण्य तिथिमा गरिने अन्तिम संस्कार पछिल्ला दिनमा परिवर्तन भएको छ । मगरात क्षेत्रका कतिपय ठाउँमा अझैपनि १३ दिनसम्म मृत्युकर्म गरिन्छ भने कतिपय ठाउँमा ७ दिनमा पनि झारिएको छ । कतिपय ठाउँमा त मरेको भोलिपल्ट नै शुद्धकार्य गर्ने प्रचलन थालिएको छ । “संस्कारमा रहेको विविधतालाई एकरुपता दिने प्रयास गरिरहेका छौ, संस्कार परिवर्तन चुनौतीपूर्ण छ” अध्यक्ष पुनले भने । संस्कार एकैपटक परिवर्तन गर्न निकै गाह्रो विषय भएकाले यसलाई विस्तारै परिमार्जन र परिवर्तन गर्दै लगिने पुनको भनाइ छ । मृत्यु भएकोे भोलिपल्टै शुद्धकार्य गर्ने र राँगा, बोकाको बलि दिने चलन विस्तारै हट्दै जान थालेको उनले बताए ।

विगतमा चिनो चौतारी बनाउने काम धुमधामका साथ गरिन्थ्यो । बाजागाजासहित छोरीचेली र आफन्तहरुको उपस्थितिमा बनाउने चलनमा केही परिवर्तन हुँदै गएको छ । तर पनि हाल भने बिसौनी बनाउनुपर्छ भन्ने भावना पछिल्लो पुस्तामा पनि कायम रहेको मगर संस्कृतिका जानकार श्रीकुमारी रोकामगरको भनाइ छ । “आर्थिक अवस्थाअनुसार कसैले अझै पनि भव्य कार्यक्रमसहित लाखौँ रुपैयाँ खर्चेर चिनो चौतारी बनाउछन् भने कसैले सामान्य औपचारिकता निर्वाह गर्ने मात्र पनि गर्दछन्” रोकामगरले भने । मगरका साथै गुरुङ समुदायमा पनि यो चलन रहेको छ । सबै जनजातिको यस्तो चलन भए पनि जातीय समुदायअनुसार चलन पनि फरक–फरक रहेको छ । सामाजिक मूल्यमान्यता र परम्परालाई जीवन्त राख्न नयाँ पुस्ता पनि जागरुक देखिन्छ ।

विसं २०६८ को जनगणनाअनुसार रोल्पाको कूल जनसङ्ख्याको ४४ प्रतिशत मगरको छ । यस जिल्लामा मगरको जनसङ्ख्या दुई लाख २४ हजार ५०६ रहेको छ । घर्ती, बुढा, पुन, बाँठा, रोका, थापालगायतका मगरहरुको बस्ती रोल्पामा छ । मगरपछि गुरुङको पनि जिल्लामा बसोबास रहेको छ । जिल्लाका प्रायःसबै स्थानीय तहमा मगरहरुको बसोबास रहेपनि थवाङ, सुनछहरी, माडी, लुङ्ग्री, परिवर्तन र त्रिवेणी गाउँपालिका र रोल्पा नगरपालिकामा मगरको बाहुल्यता रहेको छ । जिल्लामा ३३ प्रतिशत क्षेत्री, १५ प्रतिशत दलित, दुई प्रतिशत सन्यासी, १ प्रतिशत बाहुन र ५ प्रतिशत अन्य जाती रहेक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here