December 11, 2023
राजनीति समाचार

मङ्सिर ७ गते संयमित भएर जनप्रदर्शन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, आइतबार, ३ मङ्सिर २०८० । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीको भ्रातृ संगठन युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने बृहत् जनप्रदर्शनको स्वामित्व लिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सहितका नेता सहभागी विशेष भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व लिएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते राष्ट्रिय युवा संघको नेतृत्वमा हुने बृहत् जनप्रदर्शनमा पार्टीको साथ/समर्थन रहेको बताउनुभयो । ७ गतेको दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै संकेत मात्र गर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले यातना सहेर, अंगभंग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो । बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो । त्यसकारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु । लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ ।’

अध्यक्ष ओलीले प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न निर्देशन दिँदै भन्नुभयो, ‘हामी निषेधित क्षेत्र तोड्दैनौँ । निषेधाज्ञा तोड्दैनौँ,कुनै समय त्यस्तो आउन सक्छ कालान्तरमा । आन्दोलनका क्रममा के हुन्छ त्यो बेग्लै कुरा हो । आज निषेधाज्ञा तोडिँदैन, सरकारले स्थल विशेष हामीलाई तोक्यो भने हामी त्यही स्थल विशेषमा केन्द्रित हुन सक्छौँ । जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौँ, अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति होइन ।’ सकेसम्म राता टोपी लगाएर र हरेकले झण्डा बोक्नु राम्रो हुने उहाँको सुझाव छ । प्रदर्शनका क्रममा कसैप्रति जाइनलाग्न र संयमित हुन पनि अध्यक्ष ओलीले निर्देशन दिनुभयो । पार्टीको प्रदर्शनस्थल पनि अहिले माइतीघर तोकिए पनि पछि परिवर्तन हुनसक्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने टिप्पणीसमेत गर्नुभएको छ । दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरबाट मान्छे उतार्न लागेको टिप्पणी गर्नुभएका ओलीले भन्नुभयो, ‘एउटा कसै/कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् देशभरबाट काठमाडौंमा मानिसहरू उतार्न, ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो ।’ अहिलेको अनियमितता र बेथितिको कारण गठबन्धन सरकार रहेको ओलीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *