काठमाडौं, शनिबार, ३१ जेठ २०७७। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेतृत्वमा भएको बेला केही नयाँ बनाएर जानुपर्ने बताउनुभयो । भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिनेगरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने उहाँको भनाई थियो ।

लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न मन्त्री अर्यालले निर्देशन दिनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘कार्यालयमा भिडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’ उहाँले भन्नुभयो ।

कोरोनाले नयाँ चुनौती थपेको भन्दै उहाँले अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बताउनुभयो । ‘अहिले परिस्थिती फेरिएको छ । कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । ती मानिसहरुलाई पनि रोजगारी दिनुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौ ? त्यसको आकलन गर्न जरुरी छ ।’

ठूलो संख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भएपनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप बृद्धी गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताउनुभयो ।

अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसकेमा भविश्यमा ठूलो चुनौती हुनसक्ने उहाँको भनाई थियो । ‘हामीले राम्रोसँग अनुगमन गर्न सकेनौं भने भ‍ोली ठूलो जोखिम हुनसक्छ । यसलाई समयमै सचेत हुनुपर्ने अवस्था छ । यस विषयमा केही विज्ञसँग पनि छलफल गरौ । अनुगमन राम्रोसँग गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

सहकारीका प्रशिक्षणहरु पनि कसरी भइरहेका छन् ? त्यसको प्रतिफल कस्तो भइरहेको छ ? भन्ने बारेमा समिक्षा गर्नुपर्ने बेला आएको मन्त्री अर्यालले बताउनुभयो । अबको प्रशिक्षणको डिजाइन फरक ढंगले गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

साथै, मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताउनुभयो । सचिव न्यौपानेले जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नका निम्ती कार्यालय र कार्यालय वरिपरीको बातावरणलाई राम्रो बनाइएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here