काठमाडौँ, बुधबार, १४ जेठ २०७७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपाललाई विश्वमाझ मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउने घोषणा गर्नुभएको छ ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मङ्गलबार राजधानीमा आयोजित ‘लैङ्गिक हिंसा र मर्यादित महिनावारी’को भूमिका विषयक भर्चुअल बैठकमा उक्त घोषणा गर्नुभएको हो । मन्त्री गुरुङले छाउगोठ जस्तो सामाजिक कलङ्क भइरहने नेपाललाई मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउन सरकारले आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली निर्माणको काम तीव्र बनाएको पनि स्पष्ट पार्नुभयो ।

यस अगाडि जेठ १३, १४ र १५ गते ‘मर्यादित महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी’ गर्ने तय भएको थियो । कोरोनाका कारण सिर्जना भएको स्थितिले उक्त गोष्ठी स्थगित गर्नुपरेको उल्लेख गर्दै उहाँले समाजमा विद्यमान सबै खालका विभेद, विकृति र विसङ्गति अन्त्य गर्न सरकारले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर सामाजिक अभियान सञ्चालन गर्ने बताउनुभयो ।

सोही भर्चुअल बैठकमा सङ्घीय संसद्को महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सरकारले छाउपडी प्रथा जस्तो सामाजिक कुरीतिको अन्त्य गर्न मर्यादित महिनावारी जस्तो अवधारणा अघि सारेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उक्त बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिनावारी मर्यादित बनाउन सरकारले महिलाकै अग्रसरतामा खुला बहसको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here