काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको हो ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई कारबाही गरिएको पत्र पठाएका छन् ।
दुवैलाई पठाइएको पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ ।
पत्रमा भनिएको छ ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ ।’
यसअघि वरिष्ठ नेता नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधिएको थियो । नेता नेपाललाई १० बुँदे स्पष्टीकरण सोधिएको थियो । त्यसको प्रत्युत्तर दिँदै नेता नेपालले प्रधानमन्त्रीलाई नै विभिन्न बुँदामा प्रतिस्पष्टीकरण माग गरेका थिए । अध्यक्ष ओलिले नेता नेपाल र डा रावलले दिएको स्पष्टीकरण कार्वाहीयोग्य भएको बताउँदै आएका थिए ।