गोरखा, शुक्रबार, १६ साउन २०७७ ।

आत्रेय गोत्रीय बगाले थापा खानदानमा जन्मेका रज्जाई थापाका नाति उमराव बाघ भीमसेन (भीमसिंह) थापाका पुत्र अमरसिंह थापाको जन्म सन् १७५१ मा सिरानचोक गोरखामा भएको थियो ।

अमरसिंह थापाको बुबा भीमसेन थापाले श्री ५ पृथ्वीनारायण शाहको राज्य कालमा उमराव पद पाएका थिए । गोरखा राज्यको विस्तार गर्ने क्रममा भीमसेन थापाले पलाञ्चोकको युद्धमा नेतृत्व गरेका थिए । त्यो युद्ध सन् १७५९ मा भएको थियो । भक्तपुर राज्यको अधिनमा रहेका काभ्रे र पलाञ्चोक गोरखाले हात पार्ने अभियानमा बाघ भीमसेन थापालाई सैन्य साथ पठाइएको थियो ।

युद्ध बाघ भीमसेन थापा मारिए र उनको अभिभारा रामकृष्ण कुँवरको हातमा आयो । रामकृष्ण कुँवरले ती प्रदेशहरु जितेर त्यही संरक्षक भएर भंवरकोटमा घर बनाई बस्न थाले । युद्धमा मारिने बाघ भीमसेन थापाका आठ वर्षका छोरा अमरसिंह थापालाई आफ्नो बाबुको ठाउँमा उमेर पुगेपछि लैजाने गरी नेपाली सेनाले तालिम दिन थाल्यो । अमरसिंह थापाको दर्जा काजी नै थियो । पछि गएर कमाण्डर इन चिफ भीमसेन थापाको पिताको पनि अमरसिंह थापा नाम भएको र उनको पनि सोही नाम भएकाले पनि र भीमसेनाको पिता भएकोले प्रचलनमा सम्बोधन गर्दा उनलाई बडाकाजी र भीमसेन थापाको पितालाई सानाकाजी वा छोटा काजी भनिएको हो । दर्जाले नै बडाकाजी दिइएको प्रमाण पाइएको छैन । उनी नेपालको राष्ट्रिय विभूति हुन भने वास्तविक पद काजी (प्रधानसेनापति) थियो ।

काजी अमरसिंह थापाले कीर्तिपुरको युद्धमा भाग लिने अवस्था आएको थिएन । उनी त्योबेला कलिलो उमेरका थिए । सन् १७८३ को युद्धमा अमरसिंह थापा सरदार भएका थिए । नायब राज्यलक्ष्मीलै तनहुँ जित्न सिजुङ भन्ने ठाउँमा ठाना बार्न सेना पठाएकी थिइन् ।

तर, पर्वतको सेनाले गोरखालीलाई थपाएर पठायो । यसरी सिजुङबाट ठाना बार्दाबार्दै धपिनु परेको हुनाले गोरखाली सेनाले चौबीसीबाट हुन लागेको गोरखामाथिको आक्रमणमा चौबीसीलाई हराउनु थियो । चौबीसी सेनाले गोरखाको सिरानचोकमाथि आक्रमण गर्ने योजना बनाइरहेको थियो । नेपालले आफेनो आत्मरक्षा गर्नुपर्ने घडी आएको हुनाले काठमाडौंबाट सेनाको राम्रो प्रवन्ध हुन लाग्यो ।

मुख्य सेनापति काजी बलभद्र शाह र उपसेनापतिहरुमा काजी देवदत्त थापाममगर, काजी दामोदर पाण्डे, सरदार अमरसिंह थापा आदि थिए । अमरसिंह थापको जन्मस्थान नै सिरानचोक हुनाले त्यहाँको भौगोलिक ज्ञान उनमा बेसी थियो । चिप्लेटी भन्ने ठाउँमा अमरसिंह थापाले चौबीसी सेनालाई काटे । बचेका सेना भागी गएर सबै चौबीसी सेनाले भिमर्याकमा आक्रमण गरी २०० सेना चौबीसीका मारिए । त्यसपछि चौबीसीको मस्ती गलेको हुनाले चेपेतरि रागिनाशतिर लागेर लमजुङमा शरण लिए ।

पाल्पाली सेना सिजुङमा प्रतिरक्षा थिया र पराजयको खबर पाएर डराउँदै फर्कियो । पर्वतका राजा कीर्तबम मल्लले यो पराजयको मूल दोष कास्कीलाई दिएर त्यहाँ लुटपाट मच्चाए । हाहाकारमा परेका कस्केली राजा गोरखाली सेनापति बलभदै शाहका साथमा शरण लिन पुत्रसहित आए । कास्केली राजाको राज्यफिर्ता गराउने विषयमा लमजुङ राज्यलाई नष्ट पार्न बेतियामा निर्वासित जीवन बिताएका वंशराज पाण्डेलाई बोलावट पठाइयो । लमजुङका बारेमा विशेष ज्ञान भएका चौतारा दलमर्जन शाहलाई पनि नेपाल झिकाइयो ।

काजी वंशराज पाण्डेले लमजुङका पन्तहरुलाई आफ्नो पक्षमा मिलाए । त्यसपछि उनले लमजुङमा घेरा दिई सरदार अमरसिंह थापालाई छरितो सेनाको तैनाथ दिई कास्कीतिर पठाइदिए । दारेगौंडाको देउरालीमा ढिकुरपोखरीनेर ढङ्गेपाटी बनाई बसेका आनन्दमा डुबेका पर्वतका राजा कीर्तिबम मल्ललाई एक्कासी घेराउ गरिदिए । घेरामा परेका राजा पाङ्दुरकोटबाट एक सैनिकलाई जोगीको भेषमा बोलाई आफूले त्यही भेष लिई बाहिर निस्की आँधीखोलातिर भाग्न सफल भए । पर्वतको सेनाले आत्मसमर्पण गर्यो । अमरसिंह थापाले कास्कीलाई मुक्त गरिदिए ।

काजी अभिमानसिंह बस्न्यातको मातहतमा पाल्पा चढाई गर्न गएको फौजमा अमरसिंह थापा पनि थिए । सरदार बिलोचन खवास र अमरसिंह थापाले कम्पनी फौज लिई पूर्वाखोलाको बाटोबाट अगाडि बढी ताहुमा आक्रमण गरे । ताहुमा नेपालको अधिकार भएपछि त्यही बल बाँकुतिर बढ्यो । उनै अमरसिंह थापाले जेठी तरबर चलाएर पाल्पाली सेनासित लडे ।

गोरखाको युद्धकलासँग पाल्पाको केही नलाग्दा पाल्पाले नेपालको अगाडि घुँडा टेक्यो । सन् १७८५ मा पश्चिमतिर लागेको सेना गुल्मीको चन्द्रकोटरित अमरसिंह थापाको मातहतमा रहेको थियो । चन्द्रकोटबाट बढेको उनको नेतृत्वको नेपाली सेनाले खाँची पनि कब्जा गर्यो । त्यसपछि उनलाई काठमाडौं बोलाइयो । त्यहाँ पुगेर नेपाली सेना लिएर सन् १७९० मा भेरी नदी तरी दैलेखमा आक्रमण गर्न गयो । दैलेख विशालपुर सुक्षेत्रमा युद्ध भएपछि दैलेख वशमा पर्यो ।

दुल्लुका राजा उत्तम शाही र जाजरकोटे राजा गजेन्द्र शाहले नेपाललाई सहयोग गरे । तयसरी कर्णाली नदीसम्म सिमाना पुगेपछि दुल्लुका राजा उत्तम शाही र अमरसिंह थापा अछाम र डोटीतिर बढे । उनीहरुका साथमा कप्तान गौलैयाँ खवास र कप्तान रणवीर खत्री १० कम्पनी फौज लिएर गएका थिए । डोेटीसँग डुम्राकोटा तारिका दिपायलमा युद्ध भएपछि डोटी अछाम विजय भयो । बझाङले नेपालको आधिपत्य स्वीकार गर्दा नेपालको सिमाना महाकाली नदीसम्म पुग्यो । त्यसपछि सरदार अमरसिंह थापा र उनका सहकर्मीहरु महाकाली तरी कमाउँको धोली भन्ने ठाउँमा ठाना हाली बसेका थिए ।

नेपाली फौज कुमाउँ पुगेका बेलामा त्यो राज्यमा उत्तराधिकारीको लागि तनाब बढेको थियो । काजी जगजित पाण्डे र काजी अमरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले कुमाउँ हान्ने योजना बनायो । कुमाउँका राजा लालसिंह तथा महेन्द्र चन्द दुवैले नेपाली सेनालाई रोक्ने प्रयत्न गरी बुथलगढमा पठाएका थिए ।

तर, सो लडाइँमा कुमाउँ पराजित भयो, जसको फलस्वरुप सन् १७९१ मा कुमाउ नेपालमा मिल्यो । त्यही सिलसिलामा सन् १७९२ मा जगजीत पाण्डे र अमरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले गढवालमाथि हमला गर्यो । तर, युद्ध लगातार २ वर्षसम्म चलिरह्यो । गढवालसँग युद्ध चलिरहेको बेला र नेपालको विजयका लक्षणहरु देखा परेको बेलामा नेपाल र चीनको युद्ध हुने सम्भावना बढ्दै गयो । त्यसबाट नेपाली सेना फर्काउने आज्ञा दिइयो र सेना काठमाडौं फर्किए तर केही समयपछि भोटसँग सम्झौता भएको थियो ।

त्यसपछि भने अमरसिंह थापाको नेतृत्वमा ५ हजार सेना गढवाल हमला गर्न पठाइयो । गढवाली राजा प्रद्युम्न शाह युद्धमा टिक्न नसकी देहरादुनतर्फ भागे । काजी अमरसिंह थापाले गढवाल दखल गरे । तदनुसार गढवालले वार्षिक २ लाख रुपैयाँ सिर्तोस्वरुप तिर्ने शर्तबन्दी गरिएको थियो । त्यसको १ वर्षपछि वा सन् १७९६ मा गढवालका अपदस्थ राजा प्रद्युम्न शाह नयाँ फौज तयार गरी नेपाली सेनासँग गुरुघना भन्ने ठाउँमा लड्दा मारिए । त्यसपछि नेपालले देहरादुन पनि हात पार्यो । देहरादुनले वार्षिक ५० हजार नेपाललाई कर तिर्ने भयो ।

पश्चिम किल्ला काँगडा छिमेकी राज्यमा शक्तिशाली थियो । काँगडा तथा विशालपुरको बीचमा शत्रुता थियो । विशालपुरले सिरमौरतर्फ लाग्दा युद्ध हुन गएको अवस्थामा काँगडाले हण्डुर राज्यलाई भड्काएर सिरमौरसँग युद्ध गराई भिडायो । त्यसबाट तड्पिएका सिरमौरिया राजा कर्णप्रकाशले गढवालका काजी अमरसिंह थापाकहाँ गुहार मागे । अमरसि)ह थापाले भक्ति थापालाई केही सेना दिएर सिरमौर पठाई लड्दा पनि हण्डुरसँग सिरमौर पराजित भयो ।

सन् १८०६ मा रिमौरे राजा कर्णप्रकाश अमरसिंहसँग सहायता माग्न आउँदा अमरसिंह थापा आफै गएर हण्डुरलाई ठीक पारेर वरिपरिका साना राज्यहरु मिची नेपालमा मिलाइदिए । त्यहाँपछि अमरसिंह थापा काँगडातर्फ लागे । तर काँगडाका राजा लरचरो नहुनाले अमरसिंह थापाले उनका छिममेकी राज्इहरुलाई आफ्नो गराए ।

काँगडाका राजा संसार चन्दले १२ वर्ष अगाडि मण्डिका राजा इश्वरी सेनलाई बन्दी बनाइराखेकाले अमरसिंह थापाले मुक्त गरी नेपालसँग आश्रित सन्धी गराए । नेपाली सेनाले क्रमशः काँगडामा घेराउ गरेको बेलामा हण्डुरका राजा रामशरण सिंहले नेपाली सेनामाथि हमला गरे । हण्डुरलाई नेपालले त्यसपछि पूर्णतः दवाएर छोड्यो । त्यस सिलसिलामा चम्जा, हरिपुर, जसवन, दातापुर, सिवा, सुकेल, मण्डी र कटलेहर जस्ता ठाउँहरु पनि कब्जामा आए ।

काजी अमरसिंह थापा काजी जसपाउ थापा सुमेरुपुरको गढमाथि आक्रमण गर्न जालन्धरको बाटो अगाडि बढे । किल्ला काँगडालाई अढाई वर्षदेखि घेरेर बसेका बडाकाजी अमरसिंह थापाले हमला गर्न डराएको ठानी अमरसिंहको कुनै माग नभएर पनि भीमसेन थापाले काठमाडौंबाट आफ्नो भाइ काजी नयनसिंह थापाको नेतृत्वमा आएका फौजलाई अमरसिंहले अहिले तुरुन्त हमला नगर्न भने । तर काजी नयनसिंहले अमरसिंहको कुरा मानेनन् र हमलाको लागि अघि बढे । यही क्रममा काजी नयनसिंह थापा काँगडाको किल्लाबाट छुटेका गोलीले घाइते भाई ३ दिनपछि दिवंगत भए ।

सन् १८०९ को सेप्टेम्बर महिनामा १२ हजार घोडसवार र ७२ हजार पैदल सिख खाल्सा सेना लिई पञ्जावकेशरी रणजीतसिंह दौलथपुर पुगे । उनले संसार चन्दसँग काँगडा किल्ला मागे । एक सन्धीअनुसार त्यो पनि मञ्जुर गरे । नेपाली सेनासँग पञ्जावी सेनको भिषण युद्ध भयो । काँगडी सेना र पञ्जावी सेनाले नेपाली सेनामाथि जाइलागेको देखी अमरसिंह थापाले युद्ध बन्द गरे । अब नेपाली सेनापछि हटी सतजल वारी आए । दुवै पक्षले उक्त सीमाना मान्ने भनि सम्झौता गरे । नेपालको सिमाना सतलजसम्म भयो । तर नेपाल दरवारमा यो सन्धीको दस्तावेज पठाउँदा दस्तखत हुन सकेन ।

आफ्नो भाइ काजी नयनसिंह थापाको मृत्यु र पञ्जावकेशरी रणजीवनसिंहको काँगडा आक्रमणले काजी अमरसिंह थापा र भीमसेन थापाको मनमुटाव भयो । तसर्थ उनी अमरसिंह थापालाई काठमाडौं नराखी बाहिर युद्धमा राख्न चाहन्थे र उनलाई सुख दिन पनि चाहँदैनथे । अर्कातिर नेपाल र अंग्रेजको युद्ध अवश्यम्भावी भयो । सन् १८१३ मा हण्डुरका चारगाउँ दावा गरी अमरसिंह थापाले कब्जा गरे । पछि अक्रलोनीले छुटाइदिए । काजी अमरसिंह थापा अंग्रेज–नेपाल युद्धपूर्व युद्ध नलड्ने राज्य प्रवन्धमा लागेका थिए ।

उनी अंग्रेजसँग युद्ध नगर्ने पक्षमा थिए, किनभने स्युराज र बुटवलको खिचोलाले सुदूर पश्चिम नेपालको विजित भू–भाग छोड्नुपर्ने सम्भावना उनले देखेका िथए । अंग्रेज र नेपालको युद्ध भए नेपालको विजय हुने सम्भावना उनले देखेका थिएनन् । जनरल भीमसेन थापाले उनको सल्लाह सुन्न चाहेनन् । उनी युद्ध लड्ने पक्षमा थिए । तर, अंग्रेज सेनाले चारतिरबाट घेरेकाले अमरसिंह थापा पञ्जावसँग मित्रता राख्ने विचार गर्दै थिए । तर, युद्ध सुरु भएकोले उने मौका पाएनन् ।

सन् १८१४ मा एक गुप्त अंग्रेज अमरसिंह थापाकहाँ पुग्यो र नेपाली सेनामा काम गर्ने इच्छा प्रकट गर्यो । काजी अमरसिंहले उसको योग्यता जाँची दैनिक रु २ का दरले जागिर तोकी राखे तर ७ दिन बसेर ऊ बेपत्ता भयो । अक्टरलोनी लुधियानाबाट कार्तिकमा सतलजतिर बढेका थिए । उनीहरुको योजना हिन्दुर, गोहिला तथा महलोग टिप्पामा आक्रमण गर्ने थियो ।

ती दुई ठाउँहरु नेपालको अधिनमा थिए । अमरसिंह राजगढमा बसेका थिए । उनी टिम्बर किल्लाको रक्षा गर्न सोचिरहेका थिए । मलाऊ किल्लाको चारैतिर अंग्रेजहरुले अधीकरण गर्दै आउँदा पनि अमरसिंह थापाले युद्धमा हात हालेका थिएनन् । तर हिन्दुरका राजा रामशरणसिंह नेपालको पक्ष त्यागी अंग्रेजसँग मिल्न गए । त्यही बाटो अंग्रेज सेना अगाडि बढ्दै थियो । त्यसो हुनाल उनले भक्ति थापालाई ज्यौरादेखि दक्षिणी टिप्पामा खटाई आफू ज्यौरा र पुढोको भञ्ज्याङमा सेनासहित बसे । सिरमौरका राजा कृष्ण सिंहले नेपाली सेनालाई परारक्तगञ्ज चाण्डलगढमा ढाड हानी आक्रमण गरे । तर, विजय नेपालको भयो । पुषसम्म अमरसिंह थापाको क्षेत्रमा युद्ध चलेन । तर अंग्रेजहरुले चारैतिरबाट घेरेकाले पहाडका किल्लाहरु टालटुल पार्न लगाए । मलाऊको किल्ला रक्षा गर्नु नेपालको लागि आवश्यक कुरा भयो । बम शाहले कुमाउँमा अंग्रेजको प्रपोगाण्डाबाट प्रभावित भई युद्ध नै नगरी अंग्रेजसँग सन्धी गरेका थिए । देउथलमा भक्ति थापाले वीरगति पाएपछि अमरसिंह थापाको साहस घट्न गयो । सन् १८१६ को मार्च महिनामा मलाऊको नेपाली किल्लामा अंग्रेजहरुले भिषण गोलाबारी गरे ।

अमरसिंह थापाले मित्रतापूर्ण प्रस्ताव राखी युद्ध बन्द गराए । अमरसिंह थापाले काठमाडौं दरवारमा पठाएको पत्र अंग्रेजहरुद्वारा पक्राउ पर्यो । त्यसबाट अंग्रेजहरुले अमरसिंह थापालाई राम्ररी चिने । उनी सन्धी गरी आफ््नो भूभाग गुमाउने पक्षमा थिएनन्, बरु मौका हेरी फिर्ता गर्ने प्रयत्न गरिरहेका थिए ।

काजी अमरसिंह थापाल सन् १८१४ मा पशुपतिनाथको भित्री उत्तरद्वारमा तोरण अर्पण गरी पशुपतिनाथ र पार्वतीको भक्ति गरेका थिए । सो अभिलेखका अनुसार, उनकी पत्नी धर्मावतीबाट शुरवीर, माहिली रुद्रावतीबाट वीर, सांहिली रुपवती, जेठी कज्यानी लक्ष्मीहरुबाट क्रमशः काजी रणध्वज, रणजोरसिंह, भक्तवीर, रामदास, नरसिंह, अर्जुन, भुपालसिंह थापा गरी १० भाइ छोरा भएको बुझिन्छ ।

नेपालको मुख्तियार भीमसेन थापा शक्तिशाली भएपछि अमरसिंह थापा जस्ता श्री ५ पृथ्वीनारायण शाहका रेखदेखमा हुर्किएका भारदारहरुको लेखा गरिएन तैपनि आफ्नो कदर भएको ठानी अमरसिंह थापाले पश्चिम नेपालको विजय अभियानमा अग्रणी भूमिका खेले । त्यसो हुनाले उनलार्य विचल्ली हुन परेन । राजधानीबाट कुनै मद्दत नजाँदा एक प्रकारले सुदूर पश्चिमको सरकार नै उनले चलाएर बसेका थिए ।

पञ्जावकेशरीले अंग्रेजहरुको बहकाउमा लागि नेपालीसँग वैरत्व मोल्नु र अमरसिंह थापाको रायमा अंग्रेजहरुले हडपेको जमिन फिर्ता गराउन सकिन्छ भन्ने थियो । तर परिस्थिति प्रतिकूल नै रहेको हुनाले उनी अंग्रेजहरुको किल्लाबाट मुक्ति लिएपछि काठमाडौं पुगे, जुनबेला अंग्रेज र नेपालबीच सन्धी भइसकेको थियो । त्यो सन्धी गर्ने पक्षमा उनी थिएनन् । भीमसेन थापाको ढिपीले उनलाई अनादार बनायो । अमरसिंह थापालाई ठूलो चोट लागेको हुँदा उनी विक्षिप्त जस्ता भएर इन्द्रावतीको शिर पाँचपोखरी भन्ने ठाउँमा पुगी बस्न थाले ।

काजी अमरसिंह थापाले क्रमशः सन् १७८३ मा लमजुङसँग, सन् १७८६ मा पर्वत गलकोटसँग, सन् १७९० मा अछाम, दर्ना पुरकोट, दैलेख, डोटीसँग, सन् १७९० मा भोटसँग, सन् १७९१ मा कुमाउँसँग, त्यही साल गढवाल दुन, हण्डुर, काँगडा, झुपतकेशरसँग, सन् १८०६ मा पंथजराँग र १८१४–१८१६ मा अंग्रेजसँग युद्ध गरेका थिए ।

उनी युद्धकलामा धेरै अनुभवी थिए । यो कुरा सन् १८१३ मा उनले नेपाल दरवारमा लेखेको पत्रबाट चाल पाइन्छ । त्यति मात्र होइन, अक्टरलोनीले अमरसिंह थापासँग मित्रता गरी सकेसम्म युद्ध नगर्ने पक्षमा रहेको र अमरसिंहलाई अनेक तर हले हात लिन अक्टरलोनली र काजी अमरसिंह थापाका छोरा रामदास थापाको मितको पगरी साटासाट गरी मित्यारी लगाएर अमरसिंहलाई असर्फी राखी सलाम गरेको थियो । नेपाल अंग्रेज युद्धपूर्व ११ महिना अगाडिको कुरा हेर्दा काजी अमरसिंह थापालाई अंग्रेजहरुले ठूलो श्रद्धाले हेर्दथे । गढवाल, कुमाउँ र काँगडा प्रदेश नेपालले गुमाएपछि अमरसिंह थापाले रगत बगाएको ठाउँ नरहेको हुनाले उनी दिक्क भएका र सन्धीप भइसकेकाले पुनः त्यो भूभाग फुत्काउने कुनै उपाय बाँकी रहन गएन ।

उमराव बाघ भीमसेन थापालाई श्री ५ पृथ्वीनारायण शाहले पलाञ्चोक हान्न बिदा दिएका थिए । पलागञ्चोकमा नेपालको लस्करको पनि बजबुती थियो र ठाना पनि मजबुत थियो । तर साइतमा ठाना च्यात्न जान्ने मानिसको अभाव हुँदा ‘म बाघ भीमसेन थापा हुँ’ भनी हाँक दिई मुढामा चढी तरबार हान्न जाँदा टाउकोमा तरबार र पेटमा गोली लागी ढलेका थिए ।

यो साहसबाट गोरखालीलाई विजयत हात लाग्यो । त्यस्ता बाघ भीमसिंह थापाका कलदीपक अमरसिंह थापाको मृत्यु अत्यन्तै अउपेक्षित अवस्थामा हेलम्बुमा भएको थियो । अंग्रेज–नेपाल युद्धमा अंग्रेजसँग अंग्रेजसँग पराजित भएपछि काँगडा र गढवालबाट फर्केका बडाकाजी अमरसिंह थापा अंग्रेजसँग सुगौलीको सन्धीमा हस्ताक्षर गर्न नेपालले नमानेपछि पुनः युद्ध भएको घटनापछि सन् १८१६ को मार्च महिनामा सन्धी भएपछि गोसाईकुण्डतिर गएका थिए ।

जनै पूर्णिमाको मेला भरी काठमाडौं फर्कने उनको विचार थियो । तयो कालसम्म पूजापाठ र भजन कीर्तनमा दिन गुजार्ने गरेका थिए । तर, जनै पूर्णिमाको १० दिनअघि वा श्रावण १२ गते आइतबार राति ११ः४५ बजे गोसाईकुण्डमा उनी परलोक भए । उनलाई १०–१२ दिन पहिले पेटमा बेसरी शुल भएको थियो । गोसाईकुण्डमा काजी अमरसिंह थापासँग उनकी कान्छी पत्नी गढवाल, बघाटबाट बिहे गरेर ल्याएकी सती गइन भने उनको डोटीबाट बिहे गरी ल्याएकी मुखिनी काठमाडौंमा हुनाले आर्यघाटमा सती गइन । (नेपालको सैनिक इतिहास भाग २ बाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here