रोशनी गुरुङ

ऊ बेला
बालापनमा रमाइ रहँदा
म खेतका आलीहरुमा
विना कामै दौडिन्थें |

मेरा ‘बा’
हलो जोतेर बाँझो खेत चिर्नुहुन्थ्यो
कोदालो खनेर बारीको डल्लो फोर्नुहुन्थ्यो
त्यति बेला मलाई ‘बा’
संसारकै बलवान मान्छे लाग्थ्यो |

म सानो छँदा
‘बा’ मलाई क, ख पढाउनु हुन्थ्यो
त्यति बेला मलाई मेरा ‘बा’
दुनियाँकै सबैभन्दा
महान शिक्षक जस्तो लाग्थ्यो |

‘बा’
पल्टनमा दुस्मनसँग भिड्नका खातिर
ज्यानको बाजी राखेर
आमाको माया एकछिन पर सारेर
छोरा छोरीको झझल्को बन्द गरेर
बन्दुकसँग नाचि रहँदा
मलाई मेरा ‘बा’
विश्वकै साहसी मान्छे जस्तो लाग्थ्यो |

अहिले म
‘बा’ का जीवनको प्रत्येक पाना
हरेक दिन पढछु

जति पाना पल्टायो
उति सकस लाग्ने
‘बा’ का कहानी जतन गरि
मनभरि बटुल्छु |

‘बा’ को
त्यही कहानीबाट मैले
अलिकति साहस पैचो लिएकी छु
केही थान
जोस र जाँगर सापटी लिएकी छु |

किनकि मलाई
‘बा’ को साहसको जगमा टेकेर
जोस र जाँगरलाई अँगालेर
‘बा’ कै अधुरो सपना पूरा गर्नुछ |

२०७७ साल बैशाख ४ गते आइतबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here