February 24, 2024
आइपीएम फ्लोअप

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको स्थापना दिवसको अवसरमा इन्द्रेणीका कँडेल सम्मानित

काठमाडौँ, आइतबार, २१ माघ २०८० । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा इन्द्रेणी सांस्कृतिक समाजका अध्यक्ष कृष्ण कँडेल सम्मानित भएका छन् । शनिबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले राजधानीमा आयोजना गरेको आफ्नो संस्थाको १५औँ स्थापना दिवसको अवसरमा ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’बाट कार्यक्रमको प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले धनराशी ५ हजार ५५५ रुपैयाँसहित इन्द्रेणीका अध्यक्ष कँडेललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी हुन् ।

संस्थाको १५औँ स्थापना दिवसको अवसरमा अनवरत रुपमा लोक गीतको प्रवर्द्धन र संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सञ्चारकर्मी कँडेललाई सम्मान गरिएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका वर्तमान अध्यक्ष चन्द्रमणि गौतमले बताए । २०६५ साल माघ २० गते गोविन्द गिरीको अध्यक्षतामा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको संस्थापक सहसचिव समेत रहेका गोविन्द शर्माको सडक दुर्घटनामा परी केही वर्षअघि निधन भएको थियो ।

उनै शर्माको स्मृतिमा लोक सञ्चारकर्मी नेपालले ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान २०८०’ स्थापना गरिएको अध्यक्ष गौतमले जानकारी दिए । उक्त सम्मान तथा पुरस्कृत समारोहमा स्वर्गीय गोविन्द शर्माकी धर्मपत्नी सिर्जना पोख्रेल घिमिरे र छोराको पनि सहभागीता रहेको थियो । सम्मानित सञ्चारकर्मी कँडेललाई कार्यक्रमकी प्रमुख अतिथि शर्मा, स्वर्गीय शर्माकी धर्मपत्नी र छोराले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति शर्माले लोक सञ्चारकर्मी नेपालले गरेको यो आयोजना महत्वपूर्ण र जीवन्त उदाहरण रहने बताइन् । उनले आगामी दिनमा अझै सशक्त ढंगले यस्ता कार्यक्रम अगाडि बढाउन राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई आग्रह गरिन् ।

त्यसैगरी प्रमुख अतिथि शर्माले नेपाली लोकसंगीतको खोज अनुसन्धानको लागि सशक्त तवरबाट कार्य गर्न नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान लागिरहेको बताइन् । आगामी दिनमा कलाकारहरुको वर्गिकरण गरेर श्रष्टाका लागि परिचयपत्र दिने तयारी भइरहेको पनि उनले जानकारी दिइन् ।

त्यसैगरी सम्मान ग्रहणपछि सञ्चारकर्मी कँडेलले लोक गीत र सम्बन्धित कलाकारको दुःख या सुख र खोजीमा इन्द्रेणी समान ढंगले अघि बढेका भन्दै दिवंगत सञ्चारकर्मी गोविन्द शर्माको परिवारले चाहे र छोरोले पत्रकारिता पढ्न इच्छा देखाएमा उच्च शिक्षासम्मको सम्पूर्ण खर्च आफूले बेहोर्ने घोषणा समेत गरे । त्यसैगरी संस्थाको १५औँ स्थापना दिवसको अवसरमा ‘लोकगीत, लोकसंस्कृति, हिजो र आज ’विषयक अन्तरक्रिया अकार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त अन्तरक्रियामा वक्ताका रुपमा वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गीतकार, साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्साल, देउडा गीतका ज्ञाता नन्दकृष्ण जोशी, काठक्षेत्रका ज्ञाता कलाकार ध्रुवराज खड्का र गीतकार तथा संगीतकार एकनारायण भण्डारी रहेका थिए । उनीहरुले लोकगीत, हिजो र आजका अभ्यास, समस्या र समाधानका विषयमा आ–आफ्ना अनुभव र आफूले देखेका तथा यस क्षेत्रमा हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।

अन्तरक्रियाका वक्ता वरिष्ठ लोकगायक रायमाझीले विगतको जस्तो लोकगीतमा मौलीकता हराउँदै गएको र भाइरल हुनका लागि ल्याइएका संगीतले संगीत क्षेत्रका लागि न्याय नगर्ने बताए । अर्का वक्ता गीतकार तथा साहित्यकार लम्सालले लोकगीतमा विकृति आयो भनेर रोइलो गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिए । अलिअलि छालमा फोहोर देखिए पनि बीचमा बग्ने नदी कञ्चन छ भने त्यो हराएर जाने उनले बताए ।

त्यसैगरी वरिष्ठ गायक तथा काठ क्षेत्रका जानकार ध्रुवराज खड्का र गीतकार तथा संगीतकार एक नारायण भण्डारीलगायतले वास्तविक स्रष्टाले रोयल्टी पाउने अवस्था नरहने हो भने मौलिक गीतहरु पनि हराउँदै जाने भन्दै चिन्ता व्यक्त गरे । कलाकारका लागि राज्यले पनि उचित नीति र नियम ल्याएर न्याय गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा वरिष्ठ लोक गायक बम बहादुर कार्की, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गिरीले नेपाली लोकगीत तथा संगीत क्षेत्रमा मौलिकतासहित लोकसञ्चारमा पनि सुधार ल्याउन संस्था स्थापना गरिएको सुनाउँदै संस्थापक सहसचिव गोविन्द शर्मालाई दुर्घटनामा गुमाउँदाको स्मरण गरे ।

उनले दिवंगत शर्माले संस्थामा गरेको योगदानको उच्च मूल्यांकन समेत गरे । त्यस्तै निवर्तमान अध्यक्ष हरिबल्लभ नेपालले पनि दिवंगत संस्थापक सहसचिव शर्माले दिएको योगदानको स्मरण गर्दै उनको स्मरणमा आगामी दिनमा पनि ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’को आयोजना गर्ने बताए । कार्यक्रममा मनोनित दुई जना केन्द्रिय सदस्यलाई प्रमाणपत्र वितरण, कल्याणकारी कोषमा सहयोग गर्ने दातालाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।

मनोनित दुई केन्द्रिय सदस्यमा लोकान्तर डटकमका सुशील नेपाल र लालीगुराँस डटकमका सिराज गौतमलाई प्रमुख अतिथिको हातबाटै प्रमाणपत्र प्रदान गरिएको हो । यसअघि माघ ६ गते संस्थाको पाँचौं महाधिवेशनबाट चन्द्रमणि गौतमको अध्यक्षतामा १५ जनाको नयाँ कार्यसमिति चयन भइसकेको थियो । शनिबार भने दुई मनोनित सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *