चितवन, सोमबार, १९ जेठ २०७७ । अल्पसंख्यक तेस्रोलिङ्गी राहतबाट पनि बन्चित भएका छन । आज कालिका एफएममा समस्या राख्दै तेस्रोलिङ्गी शुष्मा केसीले लकडाउनको समयमा वडाले दोस्रो र तेस्रो चरणको राहत वितरण गर्दा पनि आफुहरुले राहत नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “लामो समय देखि लकडाउन चलिरहेको छ । कामहरु ठप्प छन, जम्मा भएको रकम र खाद्यन्न सकिएको छ । वडामा कुरा राखेको धेरै समय भैसक्यो सुनवाई भएको छैन ।”

गोरखा घर भई बिगत केही वर्षदेखी पोखरा बसपार्क नारायणगढमा बस्दै आउनुभएकी केसीले लकडाउनसंगै खाद्यन्नको समस्या भएपछि भरतपुर महानगरपालिका वडा नं. १ मा राहतको लागि माग गरेको बताउनुभयो । तर, वडाध्यक्षले आफ्नो टोलका अध्यक्षसंग भेट्न भनी फर्काईदिएको उहाँले बताउनुभएको छ ।

त्यसैगरी, तेस्रोलिङ्गी केसीले वडामा राहत माग गरे टोलमा जान भन्ने र टोलमा गए वडामा जान भनेपछि कहाँ गएर राहत माग गर्ने हो भन्नेमा दोधार भएपछि कालिका मिडियामा समस्या राख्न बाध्य भएको बताउनु भयो । केसीसहित नारायणगढमा रहेका १५ जना तेस्रोलिङ्गीहरु भोकमरिको समस्यामा परेका छन ।

लकडाउन अगाडि बिवाह तथा होटलहरुमामा डान्स गरेर आफ्नो जिविको पार्जन गर्ने गरेको केसी बताउनु हुन्छ । लकडाउन जारी भए पछि होटलहरु बन्द र बिवाह पनि कम हुँदा काम नपाएपछि खान र औषधि उपचार गर्न समेत गाह्रो भएको केसीले गुनासो गर्नुभयो ।

उहाँले अल्पसंख्यक तेस्रोलिङ्गीहरुको संगठन निलहिरा चितवन शाखाबाट एक महिना अगाडि ८ जनाको लागि मात्रै राहात उपलब्ध भएको र त्यस पछि कुनैपनि निकाय बाट सहयोग उपलब्ध नभएको बताउनुभयो ।

पसलहरुले एक दुई पटक उधारो दिएपनि उनीहरु सबैलाई समस्या परेको समयमा पटक पटक उधारो माग्न असहज महसुस हुने उहाँको भनाई छ । केसीले राहत वितरण गर्दै हिड्नुभएका अभियन्ताहरुले सहयोग गरिदिए धर्महुने बताउनुभएको छ ।

केसीले लकडाउनको समयमा खाद्यन्नको समस्या भएको बारम्बार स्थानिय निकायमा कुरा राख्दा पनि सुनवाई नहुदा सबैबाट तिरस्कृत भएको महसुस भएकोे गुनासो गर्नुभयो । कालिका न्युजबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here